तपाईँ सुन्दै हुनुहुन्छः

तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन अर्थमन्त्री खनालको आग्रह

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले फागुन२१ गतेको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

विराटनगरमा आजदेखि सुरु भएको विराट ट्रेड एक्स्पो–२०२५ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री खनालले निर्वाचनको तयारी अघि बढिसकेकाले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।

निर्धारित मितिमा निर्वाचन हुँदैन की भन्ने आशङ्का केही व्यक्ति तथा राजनीतिक दलहरूमा समेत रहेकाले त्यस्तो आशङ्का नगर्न उहाँले आग्रह गर्नुभयो ।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन दलहरूलाई उहाँले आग्रह गर्नुभयो । 

कसैलाई पनि राजनीतिक अवसरबाट वञ्चित नगर्न र निष्पच्छ निर्वाचन गराउने दायित्व सरकारको रहेको भन्नुहुँदै अर्थमन्त्री खनालले निर्वाचनका लागि सुरक्षा संयन्त्रको आवश्यकता अनुसार सरकारले बजेट छुटयाई सकेको बताउनुभयो । 

उहाँले लोकतन्त्रमा अध्यादेशबाट शासन चलाउने कुरा घातक हुने भएकाले यो सरकार लोकतान्त्रिक मूल्यमान्यता अनुसार सरकार अघि बढेको प्रस्ट पार्नुभयो । 

वर्तमान सरकार गठन भएपछि आर्थिक क्षेत्रमा महत्पूर्ण सुधारका कामहरू भएको भन्नुहुँदै उहाँले निजी क्षेत्रलाई शङ्काको घेरामा राखेर नभई उनीहरूप्रति विश्वास गरेर काम गर्नुपर्ने बताउनुभयो । 

अर्थमन्त्री खनालले सङ्घीयतालाई बलियो बनाउन केन्द्रमा रहेको शक्ति र अधिकारलाई प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । 

मन्त्री खनालले वर्तमान सरकारको प्रमुख एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको उल्लेख गर्नुहुँदै यो अवधिमा भ्रष्टाचारका मुद्दाहरूमा देखिएको प्रगतिले पनि त्यसलाई प्रस्ट पारेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,  उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी तथा विराट एक्स्पोका संयोजक अमित सारडाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विषयमा चर्चा गर्नुभयो।

पुस १९ गतेसम्म सञ्चालन हुने सो एक्पाेमा नेपाल भारत, बङ्गलादेश तथा पाकिस्तान गरी चार  देशको २ सय ३० वटा स्टलहरू रहेका छन् । 

एक्स्पोको अवधिभर दुई लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button