मधेशी सहिद प्रतिष्ठानद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
जनकपुरधाम । मधेशी सहिद प्रतिष्ठानले सहिदहरूको बलमा बनेको मधेश प्रदेश सरकारले प्रतिष्ठानको मर्म अनुसार कामकाज नगरेको भन्दै मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरूले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर विगतमा प्रतिष्ठानको धेरै कार्यक्रम तथा बजेट भए पनि चालु आर्थिक वर्षमा विनियोजन गरेको थोरै बजेट अनुसारका कामकाज नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रतिष्ठानका सदस्य एवं सहिद परिवारका सदस्य शुभम् यादवले विगत वर्षमा १०–१२ करोड बजेट प्रतिष्ठानमा भए पनि यस पटक २ करोड बजेट विनियोजन गरेको तर त्यसका कार्यक्रम सञ्चालन गर्न नदिएको बताउनुभयो । उहाँले सङ्घीयताको आन्दोलनको क्रममा शहादत दिएको सहिद परिवारका समग्र हितका लागि गठन भएको प्रतिष्ठानलाई पङ्गु बनाइएको बताउनुभयो । प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा सदस्यहरुले हालसम्म पनि कुनै प्रकारको सेवा सुविधा नपाएको गुनासो उहाँले गर्नुभयो ।
सहिदको नाउँमा भाषण गर्ने तर सहिद परिवार तथा घाइतेको अवस्था के छ त्यसको सोधखोज नगर्ने, एक सहिद परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन नगरेको र सहिद परिवारका आश्रित सन्तान र छोराछोरीको अध्ययन अध्यापनमा ध्यान नदिएको भन्दै ११ गते शनिबारसम्म आफूहरूको विषयमा सरकारले ध्यान नदिइए आइतबारदेखि आन्दोलनमा उत्रने सहिद परिवारहरूको भनाइ छ ।
मधेशी सहिद प्रतिष्ठानसँग करिब ११ सयसहित परिवार आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।








प्रतिक्रिया राख्नुहोस्