चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बाँके । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० बैदीस्थित फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी महिलामाथि चितुवाले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–१० बैदीकी ५० वर्षीया पावती डाँगी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर मल्लका अनुसार डाँगी घरदेखि करिब २.५ किलोमिटर दक्षिणमा रहेको सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । सोही क्रममा एक्कासी चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
पछिल्लो समय बर्दियामा चितुवा तथा बाघको आक्रमणबाट मानव मृत्युका घटना बढ्दै गएका छन् । गत पुस २ गते सोही वडा निवासी ३१ वर्षीया दिनेश चौधरीको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म सामुदायिक वन क्षेत्रमा मात्र ४ महिला र १ पुरुष गरी ५ जनाको चितुवाको आक्रमणबाट ज्यान गएको छ ।
सामुदायिक वन क्षेत्रमा चितुवाको आक्रमण लगातार हुन थालेपछि स्थानीयवासीमा त्रास र आक्रोश बढेको छ । यसअघि पुस ३ गते चितुवाको नियन्त्रण तथा दीर्घकालीन समाधानको माग गर्दै बारबर्दिया नगरपालिका–१० का स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका थिए ।
मानव–वन्यजन्तु द्वन्द्वका घटनाले स्थानीयको जनजीवन प्रभावित बन्दै गएको भन्दै सरोकारवालाहरूले वन्यजन्तु व्यवस्थापन, जोखिम न्यूनीकरण र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्