धर्म, संस्कृति र सौन्दर्यको संगम: नाटेश्वरी
'सुदूरपश्चिमको उदाउँदै गरेको पर्यटकीय गन्तव्य'

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–७ मा अवस्थित नाटेश्वरी मन्दिर धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ।
सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरमा श्रावण शुक्ल चतुर्दशी (जनैपूर्णिमाको अघिल्लो दिन) लाग्ने विशेष मेला तथा पूजा पश्चात् फर्किने क्रममा तीर्थयात्रीहरूले अनिवार्य रूपमा नाटेश्वरी मन्दिरमा पूजा गरेर मात्र फर्किनु पर्ने धार्मिक मान्यता रहँदै आएको छ।
नाटेश्वरी मन्दिरमा बडा दसैँ तथा चैते दसैँको अवसरमा विशेष मेला तथा पूजा आयोजना हुने गर्दछ। उक्त अवसरमा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने गर्दछ भने स्थानीय बासिन्दाले परम्पराअनुसार बोकाको बली दिने चलनसमेत रहिआएको छ। यहाँ पूजा र बली चढाउँदा मनले मागेको इच्छा पूरा हुने, आकाङ्क्षा सफल हुने गहिरो धार्मिक विश्वास रहेको स्थानीयहरूको भनाइ छ।
धार्मिक महत्वसँगै आकर्षक मन्दिर संरचना र वरपरको प्राकृतिक सौन्दर्यले नाटेश्वरी मन्दिर पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ। बाजुरा मात्र नभई अछाम, बझाङ लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थीहरू यहाँ आउने गरेका छन्। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत रोजाइमा पर्न थालेको नाटेश्वरी मन्दिरले क्षेत्रीय पर्यटन विकासको ठुलो सम्भावना बोकेको छ।

तर, आवश्यक पूर्वाधारको अभावका कारण मन्दिरसम्म सहज रूपमा पुग्न कठिनाइ रहेको स्थानीयहरू बताउँछन्। विशेष गरी सडक पहुँच सहज बनाउन तथा व्यापक प्रचार–प्रसार गर्न सकिएमा नाटेश्वरी मन्दिर सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमध्ये एक बन्न सक्ने स्थानीय दिपेश उपाध्यायले बताउनुभयाे।
त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण थापाले नाटेश्वरी मन्दिरको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि पालिका सरकारबाट सम्भव भएसम्म आवश्यक सहयोग हुँदै आएको बताउनुभएको छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान र प्राकृतिक सुन्दरताको त्रिवेणी बनेको नाटेश्वरी मन्दिरलाई व्यवस्थित विकास गर्न सके सुदूरपश्चिम पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्