तपाईँ सुन्दै हुनुहुन्छः

काफलबोटेमा सुन्तला खेतीबाट डेढ करोडको आम्दानी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित काफलबोटे क्षेत्रमा यस वर्ष करिब डेढ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। केही वर्षअघिसम्म मकै र कोदो खेतीसमेत राम्रो नहुने क्षेत्रमा हाल सुन्तला खेतीबाट स्थानीय किसानले राम्रो आम्दानी गर्न थालेका छन्।

स्थानीय किसान इन्द्रप्रसाद सुवेदीका अनुसार काफलबोटे क्षेत्रमा करिब १६ घरपरिवार सुन्तला खेतीमा संलग्न छन्। सुन्तला रसिलो, गुलियो र गुणस्तरीय भएकाले काठमाडौँसम्म राम्रो माग रहेको उहाँले बताउनुभयो। सुन्तला खेतीबाट वार्षिक रूपमा लाखौँ आम्दानी भइरहेको किसानहरूको भनाइ छ।

यस क्षेत्रमा निर्वाहमुखी मकै र कोदो खेती हुँदै आएको भए पनि पोखरा महानगरपालिका, कृषि ज्ञान केन्द्रलगायत संघसंस्थाको सहयोगमा सुन्तला खेती सुरु भएपछि उत्पादन बढ्दै गएको स्थानीय किसानहरूले बताएका छन्।

पोखरा–२१ को कृस्ती क्षेत्रमा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान प्रकाश पौडेल हुनुहुन्छ। उहाँको बगैचामा हाल ७ सयभन्दा बढी सुन्तलाका बोट छन्। यस वर्ष उहाँले करिब ११ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ। बाँदर, सिट्रस ग्रिनिङ रोग र असिनाबाट जोगाउनु चुनौती रहेको उहाँले बताउनुभयो।

स्थानीय लक्ष्मीपति सुवेदीका २२० वटा सुन्तलाका बोटबाट यस वर्ष उत्पादन भएको छ भने गणेश पराजुले १५० वटा बोटबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्नुभएको छ।

पोखरा महानगरपालिकाले सुन्तलामा लाग्ने रोग नियन्त्रण र प्रवर्द्धनका लागि विगत ४–५ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार सुन्तला संरक्षण र प्रवर्द्धनका लागि १ करोडभन्दा बढी अनुदान कार्यक्रम सञ्चालन गरिएको थियो। हाल पोखरा क्षेत्रमा वार्षिक करिब १० करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार हुने उहाँले बताउनुभयो।

यसैबीच, सुन्तलाको प्रवर्द्धनका लागि पोखरा–२१ को आयोजनामा यही पुस १० गते पहिलो सुन्तला महोत्सव आयोजना हुने वडाध्यक्ष दीपकप्रसाद सुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button