तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौँ टाइगर कप भलिबलमा विदेशी सहित ७ टिम सहभागी हुने 

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यस वर्ष माघ ९ गते देखि पोखरामा सञ्चालन हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ मा महिला तथा पुरुष तर्फ विदेशी सहित ७/७ टिमको सहभागिता हुने भएको छ । 

माघ १७ गतेसम्म पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगितामा महिला तर्फ थाइल्यान्डका २ टिम सहित ७ टिम र पुरुष तर्फ भने माल्दिप्स र भारतका गरी ७ टिमको सहभागिता हुने भएको मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र थाइल्यान्ड क्विन्स सहभागी हुने भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । यस्तै पुरुष तर्फ गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल सङ्घ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब भारत सहभागी हुने उहाँले जनाउनु भयो । 

प्रतियोगिताको पुरस्कार राशि यस वर्ष वृद्धि गरिएको सचिव डिबी नेपालीले बताउनुभयो । महिला तथा पुरुष दुवै समूहका विजेता टिमले रु ६ लाख ६६ हजार ६६६, उपविजेताले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टिमले रु १ लाख ६६ हजार ६६६ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई रु ११ हजार ६६६ बराबरको उपहारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा यस वर्ष पहिलो पटक भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय भलिबल रेफ्रीहरू सहभागी हुने सहसंयोजक डोलराज पोखरेलले जनाउनु भयो । करिब एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ ।

दर्शक सुविधाका लागि ठुलो क्षमताको प्याराफिट, एलइडी स्क्रिन, डिजिटल बोर्ड, अनलाइन सिजनल टिकट (रु ३५००)को व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ । 

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न १४ वटा उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button