तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छ: मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता  सुनिश्चित हुने बताउनुभएको छ ।

येशु ख्रिस्टको शुभजन्मोत्सव २०८२ को अवसरमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले फागुन २१ गते हुने निर्वाचनमार्फत मुलुकमा नयाँ परिवर्तन र समृद्धिको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो । 

“देशको समृद्धि भएमात्रै नागरिकको हक र अस्तित्व रहन्छ, त्यसपछि हाम्रो मौलिक हक र धर्मको स्वतन्त्रता सुनिश्चित हुन्छ । गलत राजनीतिक अवस्थाले हाम्रा सन्ततिहरू विदेश जानुपर्ने अवस्था आएको हो, त्यो अवस्थालाई रोक्न पनि इतिहास र जेन्जीहरूको बलिदानले राम्रो नेता र नेतृत्व छान्ने अवसर दिएको छ, त्यसको उपयोग गरौँ”, मन्त्री खरेलले भन्नुभयो ।

उहाँले भ्रष्टाचार, बेथिति, अन्याय, कुशासन, अनियमितता र असमानताको खाडल पुर्न पुराना दल असफल भएको आरोप लगाउनुभयो । “समृद्धिको अभियानमा पुराना दल अगाडि बढ्न सकेनन्, । हरेक क्षेत्रमा चरम दलीयकरण भयो र सपना मात्रै देखाएर बिसौँ वर्ष बित्यो”, मन्त्री खरेलले भन्नुभयो,“अब परिणाम चाहिएको छ । भोट दिने बेलामा सचेत बनौँ, पाँच वर्षसम्म राजनीतिक दललाई गाली गर्ने अवस्था आउन नदिऔँ ।”

नेपाल विविध जात, धर्म, संस्कृति र परम्परालाई अङ्गालेर मिलेर बसिरहेको देश हो भन्दै उहाँले त्यसलाई जोगाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “हामीसँग मानवतासहित समग्रमा नेपाली हौँ भन्ने भावना छ, हिन्दु, बौद्ध, मुस्लिम, ख्रिष्टियनलगायत सबै धर्मले हिंसा गर्नुहुँदैन, अन्याय गर्नुहुँदैन भनेको छ । हरेक धर्मले मानवताको कुरा गरेको हुन्छ, मेरो लागि पनि सबैभन्दा ठुलो धर्म भनेकै मानवता हो, म मानवताको सम्मान गर्छु । सबैले धर्मको मर्मअनुसार काम गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा ख्रिष्टियन धर्मका अगुवाहरूले ख्रिष्टमसको शुभकामना व्यक्त गर्दै बाइबलमा भएका सकारात्मक भनाइबारे चर्चा गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button