तपाईँ सुन्दै हुनुहुन्छः

भागबण्डाका कारण देशलाई दुःख नदिन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आ–आफ्नो भागबण्डा नमिलेको कारण जनतालाई दुःख नदिन आग्रह गर्नुभएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी सोमबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा समापन मन्तव्य दिनुहुँदै उहाँले देशको सर्वोच्च शक्ति जनता भएकाले दलगत स्वार्थभन्दा जनभावनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री कार्कीले छलफलमा सहभागी सबै राजनीतिक दल, नागरिक समाज र जेनजी प्रतिनिधिहरूले निर्वाचन हुनुपर्छ भन्नेमा एकमत देखाएको उल्लेख गर्नुहुँदै अदालतमा विचाराधीन केही मुद्दाबाहेक निर्वाचन नहोस् भन्ने भावना कसैमा नरहेको स्पष्ट पार्नुभयो।

“निर्वाचन हाम्रो लागि सङ्कट होइन, खुसी र परिवर्तनको मार्ग हो,” उहाँले भन्नुभयो, “हिंसात्मक विद्रोहभन्दा शान्तिपूर्ण निर्वाचनले क्रमिक रूपमा सत्ता हस्तान्तरण र प्रणाली सुधार गर्छ।”

भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाले मुलुकलाई गहिरो पीडा दिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री कार्कीले युवा पुस्ता र जेनजीले उठाएका प्रश्नहरू समाधान गर्न राजनीतिक दलहरू सच्चिनुपर्ने धारणा राख्नुभयो। संविधानले तोकेको ६ महिनाभित्र निर्वाचन गरिनु बाध्यकारी रहेको पनि उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा जनताको रोजाइ नै निर्णायक हुने उल्लेख गर्नुहुँदै कुनै दलले राम्रो काम गर्न नसके जनता अर्को दल रोज्न स्वतन्त्र हुने बताउनुभयो। “महान् भनेको जनता हुन्, राजनीतिक दल त जनताको सेवाका लागि बनेका संरचना मात्र हुन्,” उहाँले जोड दिनुभयो।

शान्ति र स्थायित्वका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उहाँले सबै दलले खराब तत्त्वलाई प्रश्रय नदिए देशमा हिंसा र आतङ्क फैलन नसक्ने दाबी गर्नुभयो। साथै, सरकार आलोचना सहन तयार रहेको र ती आलोचना मुलुककै हितका लागि भएको उहाँको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री कार्कीले सबै पक्षलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन, शान्ति कायम राख्न र देशको विकास तथा उन्नतिका लागि सहकार्य गर्न आह्वान गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button