‘अनुसन्धान फितलो हुँदा न्याय सम्पादनमा असर’
नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले अनुसन्धान फितलो हुँदा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण र सपथ ग्रहण कार्यक्रममा बोल्दै न्यायाधीश ज्ञवालीले अनुसन्धानलाई परिपक्व बनाउन सके मात्र न्याय सम्पादन उत्कृष्ट हुने बताउनुभयो ।

कमजोर वा अपर्याप्त अनुसन्धानले अदालतमा गलत प्रमाण पुग्ने र निर्दोष व्यक्तिले सजाय पाउने वा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्ने उहाँको भनाई छ । उहाँले जनमानसले यो विषय नबुझ्दा अदालतप्रतिको धारणा र बुझाई फरक हुने गरेकोले सर्वसाधारणलाई यो विषयलाई बुझाउन जरुरी रहेको बताउनुभयो । न्यायाधीश ज्ञवालीले बार र बेन्चबिच जहिले पनि सुमधुर र सुदृढ सम्बन्ध आवश्यक रहेकोमा जोड दिनुभयो ।
अध्यक्ष पवन कुमार गुप्ता नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ गराइएको हो । निर्वाचन संयोजक गणेश रेग्मीले नवनिर्वाचित टिमलाई प्रमाणपत्र प्रदान गरेका गर्नुभएको थियो । निवर्तमान अध्यक्ष चित्र बहादुर शाही नेतृत्वको कार्यसमितिले नयाँ टिमलाई पदभार हस्तान्तरण गरेको थियो भने निर्वाचन समितिले सपथ गराएको थियो ।
कार्यक्रममा जिल्ला न्यायाधीश दीपक कुमार दाहाल, नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षद् ईश्वरी प्रसाद ज्ञवाली, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, जिल्ला सहन्यायाधिवक्ता यदुनाथ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहर सिंह खत्री, अधिवक्ता वासुदेव ज्ञवाली, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष अध्यक्ष नवीन गिरी लगायतले नवनिर्वाचित टिमलाई बधाई दिँदै बार दिवसको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।
निवर्तमान सचिव गणेश प्रसाद शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष तीर्थराज ज्ञवालीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । नेपालगञ्ज उच्च अदालत बारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । अध्यक्ष गुप्ता, उपाध्यक्ष विजय कुमार शर्मा, सचिव कुसुमा सुवेदी र कोषाध्यक्षमा हरिश्चन्द्र सिजापति निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरूमा हिरा बहादुर श्रेष्ठ, राम कुमार दीक्षित, समसुद्धिन इद्रिसी, विनोद कार्की, यशोदा कुमारी उपाध्याय, राधेश्याम थारु, नरेन्द्र न्यौपाने, महेश कुमार चौधरी र सुरेश कुमार गौतम निर्वाचित हुनुभएको छ । यसैबीच आजै बार दिवस परेकोले ‘केक’ काटेर मनाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्