लेखनाथ महोत्सव : सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ
पोखरा । लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार र कृषि क्षेत्रलाई चलायमान बनाएको छ । २०६१ सालमा सुन्तला महोत्सवका रूपमा सुरु भएको कार्यक्रम समयक्रमसँगै विस्तार हुँदै अहिले कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ ।
महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत कृषि बहस कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा माछापालक कृषक यज्ञप्रसाद आचार्य, अलैँची कृषक सुरेन्द्रजङ्ग क्षत्री र पोल्ट्री व्यवसायी बाबुराम गिरीले आफ्ना अनुभव, व्यवसायका चुनौती र सफलताका कथा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत व्यवस्था, कृषक लक्षित कार्यक्रम तथा सरकारी सहयोगबारे जानकारी गराउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।
महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् ।
स्थानीय उत्पादन र कृषिलाई प्राथमिकता दिइएको महोत्सवमा जैविक कृषि उत्पादन, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ ।
सोमबार मात्रै करिब २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने एक करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि र व्यापारसँगै सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालसँग सम्बन्धित साहित्यिक प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सही उत्तर दिने दर्शकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसै वर्ष कवि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाललाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन, साना व्यवसायको विकास र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी बन्दै गएको छ । महोत्सव अझै केही दिन सञ्चालन हुने भएकाले व्यापार र दर्शक सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्