दिगो विकासका लागि श्रमदान अपरिहार्य : अध्यक्ष साम्पाङ
वीरगञ्ज । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताउनुभएको छ ।

श्रम संस्कृति पार्टीद्वारा पर्सा जिल्लाको ठोरीस्थित बागमोर्चामा आज आयोजित पार्टीको जिल्ला भेला तथा जिल्ला समितिको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम संस्कृतिको बिचार बुझेर मात्रै आफ्नो पार्टीमा आउन युवाहरूलाई आग्रह गर्नुभयो ।
धरान उपमहानगरपालिकाका प्रमुख समेत रहनुभएका साम्पाङले जनतालाई देश र माटोसँग जोड्नु आवश्यक रहेको बताउँदै सरकारको बजेटमा मात्र निर्भर रहँदा आफ्नो क्षेत्रको बिकास छिटो सम्भव नहुने हुँदा छिटो विकासका लागि श्रमदान अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
उहाँले श्रमदानबाट विकास गर्दा जनता आफै संलग्न हुने बताउँदै देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीको मुख्य उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष साम्पाङले सबै नेपाली एउटै परिवारको सदस्य भएको र हाम्री आमा नेपाल हुन् भन्नुहुँदै हामी लड्दा आमा रुने र हामी एकजुट भएर समृद्धिमा लाग्दा आमा हाँस्ने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्