तपाईँ सुन्दै हुनुहुन्छः

पहुँचविहीन समुदायसम्म कर्जा पुर्‍याउन गभर्नर पौडेलको निर्देशन 

वीरगञ्ज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैङ्कहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुर्‍याउन तथा निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन दिनुभएको छ । 

वीरगञ्जमा आयोजित ‘अर्थतन्त्रको रूपान्तरणका लागि केन्द्र र मधेस प्रदेशमा नेपाल राष्ट्र बैङ्कको भूमिका’ विषयक सरोकारवाला हरूसँगको अन्तरक्रिया कार्यक्रममा गभर्नर डा. पौडेलले अर्थतन्त्रमा स्रोतको कमीभन्दा पनि आत्मविश्वास र मनोबलको कमी देखिएको खुलासा गर्नुभयो ।

मुलुकको अर्थतन्त्र बिस्तारै सुधारको लयमा फर्किएको बताउँदै बाहाँले यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।  

गभर्नर डा. पौडेलले मधेस प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत गर्नुपर्ने बताउँदै लगानी गर्दा पूर्ण रूपमा परियोजनाको अध्ययन गरी सम्भावित चुनौतीहरूको मूल्याङ्कन गरेर मात्र लगानी गर्न बैङ्कहरू लाई राष्ट्र बैंकले निर्देशन दिएको बताउनुभयो । 

मुलुक अहिले संक्रमणकालमा रहेको र सुरक्षाको ग्यारेन्टी दिन राज्य तयार रहेको बताउँदै गभर्नर डा. पौडेलले बैङ्कहरूलाई कसैलाई काखा र कसैलाई पाखा नगरी लगानी गर्न निर्देशन दिनुभयो । उहाँले सामाजिक सञ्जाल र बाहिर आएजस्तो देशको आर्थिक अवस्था खराब नभएको जिकिर गर्नुभयो । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बैङ्कहरूमा तरलता बढे पनि साना तथा मझौला व्यवसायीले ऋण पाउन नसकेको गुनासो गर्नुभयो । 

सुरक्षा नभएका कारण निजी क्षेत्रले लगानी गर्न नसकेको बताउँदै अध्यक्ष गौतमले सरकारले निजी क्षेत्रको सुरक्षा ग्यारेन्टी गर्न नसक्दा लगानी घट्दै गएको दाबी गर्नुभयो । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक वैद्यले सरकार र निजी क्षेत्रबिच विश्वासको सङ्कट रहेको बताउँदै सुशासनको अभाव र एकद्वार प्रणाली कार्यान्वयन नहुँदा वैदेशिक लगानी भित्रिन नसकेको बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्क वीरगञ्जका निर्देशक सुशील पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका अनुसन्धान निर्देशक प्रा. डा. रामशरण खरेल, प्राइम कमर्सियल बैंकका प्रमुख सूर्यप्रसाद तिवारी, वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल नेपाल राष्ट्र बैंकका उपनिर्देशक जगदीश कुमार लगायत वीरगन्जका उद्योगी–व्यवसायी, बैङ्क तथा वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button