तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल-भारत सीमामा फलामे तारजाली: जगंली जनावरबाट हुने क्षति रोकिएसँगै किसानलाई राहत

वीरगञ्ज । जगंली जनावरबाट बाली जोगाउन ठोरी मालीबस्तीको नेपाल भारत सीमामा फलामे तारजाली लगाइएको छ । 

पर्साको ठोरी सँग जोडिएको भारतको नेशनल टाइगर रिजर्भ जगंलीबाट ग्रामीण बस्तीमा प्रवेश गर्नै जगंली जनावरले बालीनाली खाएर क्षति पुर्‍याउन थालेपछि  भारतसँगको सीमा जोडिएको पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीका किसानहरूको बाली सुरक्षाका लागि दशगजा क्षेत्रमा फलामे तारबार लगाइएका हुन् ।

भारतीय सुरक्षाकर्मीकै सहमतिमा मालीबस्तीस्थित दशगजा क्षेत्रमा १ किलोमिटर सीमामा फलामे तारबार लगाइएको हो ।

सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा २५ लाख रुपैयाँ खर्च गरेर फलामे तारजाली लगाइएको स्थानीय किसान मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार, सीमा क्षेत्रमा वन्यजन्तुले खेतीबाली नष्ट गर्ने समस्या गम्भीर बन्दै गएपछि किसानहरुले सूर्य नेपालसँग ३ किमी सीमा क्षेत्रमा फलामे तार जाली निर्माण गरी उपलब्ध गराइदिन अनुरोध गरेकोमा पहिलो चरणमा अहिले १ किमी तारजाली निर्माण गरि छेकबार लगाइएको हो । बाँकी दुई किलोमिटर क्षेत्रमा पनि क्रमशः तारजालीको छेकबार लगाउने योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो । 

मालीबस्तीमा भारतको नेशनल टाइगर रिजर्भ जगंलीबाट आउने जङ्गली जनावरले किसानको खेतमा पसेर बाली क्षति पुर्‍याउँदै आएका छन् । सो क्षेत्रमा बाघको आक्रमणबाट दुई जना मानिसको ज्यान समेत गइसकेको छ । यही कारण किसानहरुले सूर्य नेपालसँग ३ किमी क्षेत्रमा फलामे तारजाली निर्माणका लागि अनुरोध गरेका थिए ।

नेपाल–भारत दुवै पक्षका सीमा सुरक्षा बलको सहमतिको आधारमा सीमा क्षेत्रमा तारजाली लगाइएको कारण विवाद उत्पन्न नभएको श्रेष्ठले बताउनुभयो ।

सीमामा फलामे तारजाली लगाए सँगै जगंली जनावरबाट हुने क्षति रोकिएपछि किसानलाई राहत भएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button