वर्ल्ड पावर लिफ्टिङकी विजेता शाह सम्मानित
पोखरा । हालै श्रीलङ्काको राजधानी कोलम्बोमा सम्पन्न वर्ल्ड पावर लिफ्टिङमा महिलातर्फ च्याम्पियन बन्न सफल नेपाली खेलाडी शर्मिला शाहलाई पोखरामा नगदसहित सम्मान गरिएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा आज (शुक्रबार) देखि सुरु भएको १८औँ हिसान स्पोर्ट्स मिटको उद्घाटनको अवसरमा शाहलाई हिसान कास्कीले नगद रु २५ हजारका साथमा सम्मानपत्र, दोसल्लाले सम्मान गरेको हो ।
खेलकुदको क्षेत्रबाट नेपालको नाम उँचो पार्ने खेलाडीलाई किसान कास्कीले हरेक वर्ष खेलाडी सम्मानको अभियान अघिल्लो संस्करणबाट सुरु गरेको हिसान कास्कीले जनाएको छ । यस अघि राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरिएको हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले बताउनुभयो ।
सम्मानित शाहले कार्यक्रममा बोल्दै आफूले विश्व च्याम्पियन बन्न कठिन यात्रा पार गरेको बताउँदै हारबाट सिक्दै अघि बढेमा सफलता हासिल गर्न सकिने बताउनुभयो । रङ्गशालामा सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन एक समारोहबीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले गर्नुभयो ।
कार्यक्रममा हिसान नेपालका केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सधैँ खुसी र सकारात्मकता दिने भएकाले सबैका लागि प्रिय बनेको बताउनुभयो ।
निवर्तमान अध्यक्ष याम बहादुर रोक्काले हिसानमा आवद्ध ८० शैक्षिक संस्थाहरूका ४ हजार विद्यार्थीहरू १८औँ हिसान स्पोर्टस मिटमा सहभागिता जनाएको बताउनुभयो ।
१८ औँ संस्करणको हिसान स्पोर्टस मिट यही पौषदेखि ७ गते सम्म पोखरा रङ्गशालामा सञ्चालन हुने सचिव किरण सापकोटाले बताउनुभयो । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र/छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा हुने भएको उहाँले जनाउनुभयो ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम, टेबुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा ब्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ । विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाउने छन् । हिसान स्पोट्र्स मिटअन्तर्गत सबै खेलहरू पोखरा रङ्गशालामा सञ्चालन भइरहेका छन् भने बास्केटबलमा टिम सहभागिता बढी भएकोले रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा समेत जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्