तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना न्यूनीकरणका लागि रौतहटका विभिन्न स्थानमा रोड फर्निचर स्थापना

रौतहट । रौतहटमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विभिन्न स्थानमा रोड फर्निचर स्थापना गरेको छ । 

शुक्रबार ट्राफिक प्रहरीले चेतनामूलक होर्डिङ बोर्ड, नो पार्किङ बोर्ड तथा पैदल यात्रु सहायता सम्बन्धी बोर्डहरू राख्दै सडक सुरक्षालाई थप प्रभावकारी बनाउने प्रयास गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको कार्यक्षेत्रअन्तर्गत पर्ने धन्सर खोलादेखि बागमती नदीसम्मका मुख्य सडक तथा दुर्घटनाको जोखिम बढी रहेका स्थानहरूमा यस्ता चेतनामूलक बोर्डहरू राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाइएको छ । 

सवारी चालक तथा पैदल यात्रुलाई सचेत गराउने उद्देश्यले राखिएका यी बोर्डहरूले ट्राफिक नियम पालना गर्न सहयोग पुग्ने कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय सवारी चाप बढेसँगै ट्राफिक नियम उल्लङ्घन, अव्यवस्थित पार्किङ र पैदल यात्रुको असावधानीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यस्ता समस्यालाई मध्यनजर गर्दै सडक प्रयोगकर्तालाई समयमै सचेत गराउन रोड फर्निचर राख्ने अभियान अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

थापा मगरले दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक सामग्रीहरू निकै फलदायी हुने बताउनुभयो । उहाँले सवारी चालक र सर्वसाधारणमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा रोड फर्निचर स्थापना गरिएको जानकारी दिनुभयो । थापा मगरका अनुसार सडकमा स्पष्ट सन्देश दिने होर्डिङ बोर्ड, नो पार्किङ सङ्केत र पैदल यात्रु सहायता बोर्डहरूले सवारी व्यवस्थापनमा सहजता ल्याउनुका साथै अनुशासित ट्राफिक प्रणाली विकासमा सहयोग पुर्‍याउनेछ । उहाँले आगामी दिनमा पनि जोखिमयुक्त स्थान पहिचान गरी थप यस्ता सामग्रीहरू राख्ने योजना रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button