तपाईँ सुन्दै हुनुहुन्छः

चार करोडको लागतमा क्याम्पसको प्रशासनिक भवन बन्दै

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा करिब चार करोड २० लाख रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण शुरु भएको छ । 

सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले भवनको शिलान्यास गर्दै सोलुखुम्बु बहुमुखी क्याम्पस जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण केन्द्रको रूपमा स्थापित भएको बताउनुभयो । 

समृद्ध समाज र राष्ट्र निर्माणको आधार भएकाले स्थानीय तहबाट शिक्षामा गरिने लगानीलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै नगरप्रमुख शेर्पाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

करिब ३२ वर्षदेखि अपर सगरमाथाका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको समेत शैक्षिक केन्द्रका रुपमा रहेको उक्त क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले प्रशासनिक भवन निर्माणका लागि गएको असोज २३ गते निर्माण कार्य सुरु गरिएको र आगामी २०८३ साल पुस ३० गतेभित्र सम्पन्न गर्ने जानकारी गराउनुभयो । 

भवन निर्माणका लागि कुल रकम भ्याटसहित चार करोड १९ लाख ८२ हजार १५० रुपैयाँ बजेट सोलुदुधकुण्ड नगरपालिकाको पूर्ण अनुदान रहेको प्रमुख शर्माले बताउनुभयो । योग्य र प्रेरित शिक्षक, कर्मचारी तथा विद्यार्थीमैत्री पूर्वाधार बिना गुणस्तरीय शिक्षा सम्भव नहुने भएकाले क्याम्पसको दीर्घकालीन विकासका लागि भौतिक संरचनामा लगानी अपरिहार्य रहेको उहाँको भनाइ छ । 

उक्त क्याम्पसमा शिक्षा सङ्कायमा स्नातकोत्तर तहसम्म, वाणिज्य र मानविकी सङ्कायमा स्नातक तहसम्म पठनपाठन हुँदै आएको छ । त्यस अवसरमा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, पत्रकार, क्याम्पसका शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी लगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button