तपाईँ सुन्दै हुनुहुन्छः

झापाका प्रहरी कार्यालयमा आक्रमण गर्नेमा हालसम्म ४१ जना पक्राउ, ५३ जना अझै फरार

 भद्रपुर, झापा । झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा हालसम्म ४१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला र ४० जना पुरुष छन् ।

जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा  ९४ जनामाथि उजुरी परेको छ । तीसमध्ये ४१ जना पक्राउ परेका हुन् । ५३ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ३० पुरुष र एक महिला गरी ३१ जनामाथि उजुरी परेकोमा दुईजना पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडमा २४ जना पुरुष र एक महिला गरी २५ जनामाथि उजुरी परेकोमा एक महिला र १७ जना पुरुष गरी १८ जना पक्राउ परेका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा ३८ जना पुरुषमाथि उजुरी परेकोमा २५ जना पक्राउ परेका छन् ।

पक्राउ परेका ४१ जनामध्ये ४ जनामाथि दोहोरो मुद्दा चलेको छ । सोमध्ये १९ जना पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । १३ जना धरौटीमा छुटेको, ४ जना हाजिरी  जमानीमा छुटेको र ५ जना अनुसन्धानकै क्रममा रहेको डिएसपी खड्काले बताउनु भयो ।

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरी आपराधिक उपद्रव कार्यमा संलग्नमाथि १५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button