ओखलढुङ्गाका दुई स्थानीय तहमा ‘रेडियो बहस’ सम्पन्न
ओखलढुङ्गा । सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपालले ओखलढुङ्गाका दुई स्थानीय तह, सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ्ग गाउँपालिकामा ‘रेडियो बहस’ कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि, स्थानीय सर्वसाधारण नागरिक तथा सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गराइएको हो । रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्का र हरि गिरिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सोमबार सिद्धिचरण नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र कटवाल, वडा नं ३ का अध्यक्ष सिताराम दाहाल, ११ का अध्यक्ष बिनोद कुमार ताम्रकार, ९ का वडाअध्यक्ष गुणराज खड्का र स्थानीय सरोकारवाला व्यक्ति, स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।
मङ्गलवार मानेभन्ज्याङ्ग गाउँपालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली सरोकारवाला निकाय, सर्वसाधारण नागरिकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन् । सिद्धिचरण नगरपालिकामा कृषि उत्पादन प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने र कृषि उत्पादनलाई बजारीकरण गरी स्थानीय किसानको हितमा काम गर्नुपर्ने माग सहभागीले गरेका छन् । त्यसै गरी बाँदर आतङ्कका कारण खेतबारीमा कमाई लगाउन नसकेकाले बाँदर नियन्त्रण गर्न पहल गरिनुपर्ने आवज उठाएका छन् । गुनासोको जवाफ दिँदै निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षले सङ्घीय सरकारका कतिपय नीति नियमका कारण स्थानीय नागरिकका काम सहज रुपमा गर्न नसकेको बताएका थिए ।
त्यसै गरी मानेभञ्ज्याङ्ग गाउँपालिकामा स्थानीय सडकको स्तरोन्नति, शैक्षिक गुणस्तरमा वृद्धि, कार्यालयमा सुशासन प्रवर्द्धन र स्थानीयरुपमा रोजगारी सिर्जन गरिनुपर्ने विषय उठाएका थिए । गुनासोको जवाफ दिँदै अध्यक्ष रुम्दालीले स्थानीय रुपमा भौतिक पूर्वाधार निर्माणमा क्षमताका आधारमा रोजगारीको सिर्जना गर्न आवश्यक काम गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्