योजनाबद्ध विकासले नरैनापुरलाई सुगमतर्फ डोर्याउँदै
बाँके। कुनै समय बाढी–डुबान, आगलागी र भौगोलिक विकटताका कारण ‘दुर्गम’ भनेर चिनिँदै आएको बाँकेको नरैनापुर गाउँपालिका आज बिस्तारै ‘सुगम’ बन्ने दिशामा अघि बढिरहेको छ । जनप्रतिनिधि, कर्मचारी र नागरिकको साझा सोच, योजनाबद्ध विकास र दीर्घकालीन दृष्टिकोणका कारण नरैनापुरले आफ्नो पहिचान बदल्ने प्रयास गरिरहेको देखिन्छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार पालिकालाई नमुनायोग्य बनाउने लक्ष्यसहित योजना निर्माणको चरणमै संविधानले प्रदान गरेको अधिकार सूचीलाई आधार मान्ने अभ्यास गरिएको छ । उहाँ भन्नुहुन्छ,
“संविधानले दिएको अधिकार सूचीअनुसार आवधिक, वार्षिक र क्षेत्रगत योजनाहरू बनाइन्छ । संघ र प्रदेश सरकारको नीति, लक्ष्य र उद्देश्यसँग तादात्म्य कायम गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सुशासनलाई योजनाको केन्द्रमा राखेका छौँ ।”
उहाँका अनुसार अब पालिकाको आफ्नै स्रोतमा मात्र सीमित नरही आगामी आर्थिक वर्षदेखि पालिका विकास कोषको अनुदान तथा ऋणसमेत उपयोग गरी दीर्घकालीन योजनाहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । ती योजनालाई ‘पालिकाको गौरवका योजना’ र ‘वडागत योजना’का रूपमा वर्गीकरण गर्दै नरैनापुरलाई नमुना पालिकाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत वली हालको पालिका नेतृत्व विकास निर्माण र समग्र विकासप्रति अत्यन्त सकारात्मक रहेको बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा गुणस्तर र रणनीतिलाई प्राथमिकता दिँदै संवेदनशील ढंगले काम भइरहेको उहाँको भनाइ छ । जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ,
“जनप्रतिनिधिले ल्याएका योजना, नीति र कार्यक्रमलाई कानुनको दायराभित्र रहेर कार्यान्वयन गर्नु कर्मचारी वर्गको दायित्व हो । साझा लक्ष्य पालिकाको विकास भएकाले समन्वयमा कुनै समस्या छैन ।”
उहाँले स्थानीय तहको विकासका लागि सबै पक्षको व्यवहार र आचरणमा सुधार आवश्यक रहेको उल्लेख गर्दै कानुनी राज्यको अवधारणालाई आत्मसात गर्न सके विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले रेडियो नेपालसँगको कुराकानीमा भारतीय सीमासँग जोडिएको यो पालिका कुनै समय प्राकृतिक विपद्को उच्च जोखिममा रहेको स्मरण गर्नुभयो ।
“बाढी–डुबान र आगलागीका समस्याबाट पछिल्ला वर्षहरूमा धेरै हदसम्म मुक्ति पाएका छौँ,” उहाँ भन्नुहुन्छ, “तर शिक्षा र स्वास्थ्य क्षेत्रमा सोचेअनुसारको सुधार हुन सकेको छैन ।”
शिक्षा र स्वास्थ्य संस्थामा कर्मचारीको नियमित उपस्थितिलगायतका समस्या देखिए पनि सुधारका लागि नागरिकस्तरमै छलफल र पहल भइरहेको अध्यक्ष शाहको भनाइ छ । उहाँले राष्ट्रिय गौरवका योजनाले नरैनापुरलाई सदरमुकामसँग जोड्दै विकासका नयाँ सम्भावनाको ढोका खोलेको उल्लेख गर्नुभयो ।
यद्यपि पूर्वाधार विकासमा केही उपलब्धि भए पनि कृषि क्षेत्र अझै चुनौतीमै रहेको उहाँ बताउनुहुन्छ ।
“नरैनापुरमा विद्युत् सेवा पुगेको छ, तर सिँचाइ हुने खेतसम्म बत्ती नपुग्दा कृषकहरू अझै समस्यामा छन्,” उहाँले भन्नुभयो, “कृषिमा आत्मनिर्भर बन्न खेतसम्म विद्युत् विस्तार अत्यावश्यक छ, त्यसका लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक छ ।”
आज नरैनापुर दुर्गमबाट सुगमतर्फको यात्रामा छ । योजनाबद्ध विकास, सकारात्मक सोच र सहकार्यले यो पालिकालाई भौगोलिक रूपमा मात्र होइन, शिक्षा, स्वास्थ्य, कृषि, सेवा सुविधा र अवसरका दृष्टिले पनि सुगम बनाउने अपेक्षा गरिएको छ । नरैनापुरको यो रूपान्तरण यात्रा स्थानीय तहको विकासका लागि उदाहरणीय बन्न सक्ने संकेत देखिन थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्