तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा ‘स्ववियु विद्यार्थी महोत्सव’ हुने

इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा ‘स्ववियु  विद्यार्थी महोत्सव’ हुने भएको  छ । आगामी माघ २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले जनाएको छ । 

अक्षयकोष स्थापना गर्ने मुल उद्देश्यसहित विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन महोत्सव आयोजना गरिएको स्ववियु सभापति विशाल कार्कीले बताउनुभयो । जेहेन्दार विद्यार्थी तथा विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यसहित अक्षय कोष स्थापना गर्न लागिएको कार्कीले बताउनुभयो ।

महोत्सवको मुख्य आकर्षण  शैक्षिक बहस, पूर्व विद्यार्थी पुनर्मिलन, विद्यार्थी सम्मान रहेका छन् । क्याम्पसको बिगत, वर्तमान र भविष्यबारे पनि छलफल र बहस हुनेछ । महोत्सवमा जिल्लाका सम्पूर्ण उच्च माविका विद्यार्थीलाई समेत सहभागी गराइने सभापति विशाल कार्कीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूले उत्पादन गरेका हस्तकला र विज्ञान सम्बन्धी प्रदर्शनीका स्टलहरू, विभिन्न खाद्य  परिकार, विभिन्न जाती र समुदायका झाँकी प्रदर्शन, वकृत्वकला, साँस्कृतिक कार्यक्रम महोत्सवको आकर्षण हुने छन् । महोत्सवमा करिब दश हजार विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button