डेढ दशक अघि निर्माण सुरु गरिएको मोटरेवल पक्की पुल अझै बनेन
उदयपुर । डेढ दशक अर्थात् २०६७ सालमा शिलान्यास भएर निर्माण सुरु गरिएको उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाई–बेल्हा जोड्ने मोटरेवल पक्की पुल अझै पनि निर्माण सम्पन्न नभएपछि झोलुङ्गे पुल निर्माण गरेर समस्या समाधान गरिने भएको छ ।

२०६७ सालमा शिलान्यास भएर १२ बर्ष पछि सम्पन्न उन्मुख भएर एक दिन सञ्चालनमा आएको पुल सोही नदीमा आएको बाढीले १९ असार २०७८ मा पुलको दक्षिण पट्टीको भागको दुई वटा पिलर भत्काएपछि अहिले सम्म पुल पुनः निर्माण भएको थिएन ।
१२ स्पान रहेको उक्त पुल ३ सय ७ मिटर लामो रहेको छ भने पुल साँढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको छ । अहिले पुलको भाँचिएको भागमा ८१ मिटर लामो र १ दशमलव ६ मिटर चौडाइको झोलुङ्गे पुल निर्माण गरेर जोड्न लागिएको पूर्वाधार विकास कार्यालय गाईघाटका इन्जिनियर यादव प्रसाद वाग्लेले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले ६० लाख रकम विनियोजन गरेपछि मानिस, मोटरसाइकल र साइकल सम्मलाई सहज आवतजावत हुने गरी झोलुङ्गे पुल निर्माण गरि मोटरेवल पक्की पुलको भाँचिएको भागमा जोड्न लागिएको कोशी प्रदेश सभा सदस्य राजन किराँतीले जानकारी दिनुभयो । पुलको भाँचिएको भागमा झोलुङ्गे निर्माण हुने भएपछि उक्त कार्यको शिलान्यास समेत सोमबार किराँतीले गर्नुभएको थियो । उहाँले पुल निर्माण सुरु गरेको डेढ दशक सम्म पनि पुल सम्पन्न नभएर स्थानीय जनताहरू वारिपारिको समस्यामा रहेकोले उक्त समस्या केही हद सम्म समाधान गर्न भएपनि झोलुङ्गे लगाउने गरि बजेट विनियोजन गरेर काम सुरु गर्न लागिएको बताउनुभयो ।

झोलुङ्गे पुल निर्माणका लागि देवनारायण चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । उक्त समितिले पुल निर्माणको कार्य यही पुष ३ गतेबाट सुरु गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
मोटरेवल पक्की पुल भाँचिएको अवस्थामा रहेको पनि ४ बर्ष बितिसकेको थियो पुल बन्ला र सहज वारीपारी होला भन्ने स्थानीयको सपना पुरा हुन नसकिरहेको बेला कम्तीमा पनि मानिस र मोटरसाइकल भएपनि वारीपारी हुने गरि झोलुङ्गे पुल बन्ने भएपछि आफूहरू निकै हर्षित भएको स्थानीय छेदिलाल चौधरीले बताउनुभयो ।
तत्कालीन समय २०६७ सालमा मोटरेवल पक्की पुल निर्माणका लागि राज्यले ९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरेको थियो तर पछि मूल्य समायोजनका कारण पुलको लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको थियो । अहिले पुलको झन्डै ७५ मिटर भाग भाँचिएर काम नलाग्ने अवस्थामा थन्किएर बसेको छ । भाँचिएको भागमा झोलुङ्गे पुल बनेपछि यसले चौदण्डीगढी नगरपालिकाको वडा नं. ५, ९ र १० का करिब २० हजार जनसङ्ख्यालाई पालिकाको केन्द्र बेल्टार बजारसँग जोड्ने छ । साथै यस पुलले उदयपुरलाई सप्तरीसँग छोटो दुरीमा जोड्न समेत महत्वपूर्ण भूमिका खेल्ने छ ।







प्रतिक्रिया राख्नुहोस्