प्रजातन्त्र सेनानी गुरुङसहित इलामका ८ जना व्यक्ति सम्मानित
इलाम । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले यस वर्ष ८ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार इलामामा एक समारोहबीच विभिन्न विधाका सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले घोषणा गरेअनुसार यस वर्षको सर्वाधिक राशिको ‘पूर्णटुङ्ग आदर्श नागरिक सम्मान’ अग्रज व्यक्तित्व प्रजातन्त्र सेनानी कुलबहादुर गुरुङलाई ( केबी गुरुङ) प्रदान गरिको छ । गुरुङले सम्मानको साथमा ७७ हजार ७७७ रुपैयाँ पनि प्रदान गरिएको आयोजकले जनाएको छ । गुरुङको गृह जिल्ला इलाममा भएको कार्यक्रममा स्वास्थ्यको कारण उपस्थित हुन नसक्दा गुरुङका नातेदारले सम्मान ग्रहण गरेका छन् ।
यस्तै, समाजसेवा तर्फको ‘गजराज खम्बा सिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान’ ५१ हजार १०१ रुपैयाँसहित खगेन्द्र प्रसाद ढकाललाई प्रदान गरिएको छ । प्रतिष्ठानले ‘कृष्ण विनोद इलाम सिर्जना सम्मान’ (५१ हजार १०१ रुपैयाँ सहित गायक कुवेर राईलाई र कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत ‘उदयरत्न सावित्री उत्कृष्ट कृषक सम्मान’ ९५० हजार १०१ रुपैयाँ) टेकप्रसाद खनाललाई प्रदान गरेको प्रतिष्ठानका सचिव विमल वैद्यले बताउनुभयो ।
शिक्षा र शिक्षण पेसामा समर्पित व्यक्तित्वहरूलाई पनि प्रतिष्ठानले समेटेको छ। जसअनुसार जगत बहादुर लीलादेवी देवकुमारी शिक्षक सम्मान (३३ हजार ३३३ रुपैयाँ) उमाराम प्रसाईँलाई प्रदान गरेको छ।
भृकुटी शिवमाया लक्ष्मण अग्रणी महिला सम्मान (३३ हजार ३३३ रुपैयाँ) चन्द्रकला राईलाई प्रदान गरिएको छ । रामहरि नारायण प्रसाद शिक्षा सम्मान (१५ हजार १०१ रुपैयाँ) छत्र तामाङलाई प्रदान गरिएको जनाइएको छ ।
त्यसैगरी, विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले राखिएको ‘मधुजनक उत्कृष्ट विद्यार्थी सम्मान’ आदर्श माध्यमिक विद्यालय इलामका समिक्स राउतलाई प्रदान गरेको प्रतिष्ठानले जनाएको छ । राउतलाई १० हजार १०१ रुपैयाँ र सम्मान पत्र प्रदान गरिने सचिव वैद्यले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष प्रदान गरिँदै आएको यो सम्मानले जिल्लामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा क्रियाशील प्रतिभाहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गर्दै आएको छ। प्रतिष्ठानले समाजमा विशेष योगदान पुर्याए पनि ओझेल रहेका व्यक्तिको तथा ख्यातिप्राप्त व्यक्तिलाई योगदानको कदर गर्दै नगदसहित सम्मान गर्दै आएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष गोपाल बस्नेतले बताउनुभयो । समारोह प्रतिष्ठानका अध्यक्ष वासुदेव बस्नेतको अध्यक्षता र वरिष्ठ सङ्गीतकार तथा हिमालय कला मन्दिर दार्जिलिङका अध्यक्ष वसन्त क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्