तपाईँ सुन्दै हुनुहुन्छः

रातामकैको पहलमा पुनः निर्मित सातदोबाटो प्रहरी वृत्तको भवन हस्तान्तरण

काठमाडौँ । हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को पहलमा पुनःनिर्माण गरिएको सातदोबाटो प्रहरी वृत्तको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ।

२३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको भवन स्थानीय समुदायको आर्थिक तथा भौतिक सहयोगमा पुनःनिर्माण गरिएको हो। करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको भवन कलाकार केसीको अगुवाइमा निर्माण गरिएको हो।

आइतबार बिहान आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्की लगायतको उपस्थितिमा भवन हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै यसमा नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भवन पुनः निर्माणमा योगदान दिने कलाकार केसी र स्थानीय समुदायलाई धन्यवाद दिनुभयो ।

महजोडीले पनि कलाकार केसीको सामाजिक योगदानको प्रशंसा गर्दै कलाकारको जिम्मेवारी देश र समाजप्रति पनि रहने बताउनुभयो ।

यसअघि जेन–जी आन्दोलनअघिको प्रहरी वृत्तको भवनसमेत कलाकार केसीकै पहलमा निर्माण गरिएको थियो। कार्यक्रममा पुनः निर्माणमा सहयोग गर्ने दाता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button