‘सीप सिकौँ, स्वरोजगार बनौँ’ नारासहित बाँकेमा महिलाका लागि तालिम
बाँके।‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालनमा संलग्न महिलालाई लक्षित गर्दै तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको उक्त तालिमले घोडा, खच्चड र गधालगायत अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ तथा बुनाइसम्बन्धी व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा बोल्दै भेरी प्राविधिक शिक्षालयकी प्रमुख आशा श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नेपाल सरकारले देशभर सीपमूलक तालिमलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको बताउनुभयो। उहाँले बाँकेमा विशेषगरी मधेसी तथा मुस्लिम समुदायका महिला र किशोरीलाई लक्षित गरी प्रभावकारी तालिमहरू सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार फागुन २२ गतेसम्म सञ्चालन हुने उक्त तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी छन्। तालिमलाई व्यवहारिक तथा पूर्ण रूपमा व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक संगीता गौतमले प्रशिक्षण प्रदान गर्नुहुनेछ।
आयोजकका अनुसार तालिमका लागि आवश्यक सामग्री तथा उपकरण सहभागीलाई उपलब्ध गराइएको छ। साथै, तालिम सम्पन्न भएपछि महिलालाई स्वरोजगारका अवसर पहिचान गर्न तथा प्राप्त सीपलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्न आवश्यक सहजीकरणसमेत गरिने जनाइएको छ।







प्रतिक्रिया राख्नुहोस्