बाँकेमा चिसो बढ्दै, ३५ हजारभन्दा बढी नागरिक शीतलहरको जोखिममा
बाँके। बाँकेमा दिनप्रतिदिन चिसो बढ्दै गएको छ। दिनभर घाम लागे पनि बिहान कुहिरो लाग्ने र बिहान–साँझ अत्यधिक चिसो महसुस हुन थालेको छ। यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा कमजोर समुदायलाई बढी असर गर्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार नेपालगन्जको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियससम्म झरेको छ भने अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
हरेक वर्ष बाँकेमा शीतलहर विपद्को रूपमा देखा पर्ने गरेको छ। यही कारण जिल्ला विपद् व्यवस्थापन समिति बाँके तथा स्थानीय तहहरूले शीतलहर विरुद्ध पूर्वतयारी गर्दै आएका छन्। समितिले २०८२ सालका लागि शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिसकेको छ।
समितिको अनुमान अनुसार यस वर्ष बाँकेका आठवटै स्थानीय तहमा ३५ हजार ७ सय ८० जना शीतलहरबाट प्रभावित हुन सक्ने छन्। शीतलहर व्यवस्थापनका लागि करिब १ लाख ७८ हजार ९ सय २० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पूर्वानुमान अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ८ हजार ५ सय २४ परिवारका ४२ हजार ६ सय २० जना, कोहलपुर नगरपालिकामा ४ हजार १ सय ३८ परिवारका २० हजार ६ सय ९४ जना, खजुरा गाउँपालिकामा ३ हजार १ सय ९३ परिवारका १५ हजार ९ सय ६७ जना तथा जानकी गाउँपालिकामा ३ हजार ८ सय ८९ परिवारका १९ हजार ४ सय ४८ जना प्रभावित हुन सक्ने देखिएको छ।
त्यसैगरी बैजनाथ गाउँपालिकामा ३ हजार ५ सय २० परिवारका १७ हजार ६ सय ३ जना, राप्तीसोनारी गाउँपालिकामा ३ हजार ८ सय ७२ परिवारका १९ हजार ३ सय ६३ जना, नरैनापुर गाउँपालिकामा ४ हजार २ सय १८ परिवारका २२ हजार १ सय ३४ जना तथा डुडुवा गाउँपालिकामा ४ हजार २ सय १८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ।
समितिका अनुसार बाँके जिल्लाका सबै स्थानीय तहहरू शीतलहरको जोखिममा छन्। यद्यपि, व्यवस्थित बसोबास र चेतनाको स्तर तुलनात्मक रूपमा राम्रो भएका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा केही अन्य क्षेत्रहरूमा यसको प्रभाव कम हुन सक्ने देखिएको छ।
शीतलहरको प्रभावका आधारमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकालाई क्रमशः न्यून प्रभावितदेखि बढी प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको योजनामा उल्लेख भए अनुसार यी तथ्यांक विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा २०७१, २०७४ र २०७९ सालका बाढीबाट पूर्ण रूपमा प्रभावित भई घरबारविहीन भएका परिवारलाई आधार मानी तयार गरिएको हो।
बाँके जिल्लामा गर्मी याममा अत्यधिक गर्मी र लू चल्ने तथा जाडो याममा शीतलहरका कारण कडा चिसो पर्ने गर्दछ। जिल्लामा हालसम्म अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस र न्यूनतम ४.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। त्यस्तै, अधिकतम वार्षिक वर्षा १,९१२ मिलिमिटर र औसत सापेक्षिक आर्द्रता ७१.४ प्रतिशत रहेको छ।






प्रतिक्रिया राख्नुहोस्