‘११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा’
काठमाडौँ । नेकपा एमालेले भोलीबाट सुरु हुने पार्टीको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
एमालेले आज महाधिवेशनको उद्घाटन समारोह हुने स्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गरी तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

उद्घाटन समारोहमा २ हजार २ सय जना भन्दा बढी महाधिवेशन प्रतिनिधि र ३ लाख भन्दा बढी पार्टी कार्यकर्ता सहभागी हुने नेकपा एमालेका नेता राजन भट्टराईले जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागी हुन काठमाडौँको पश्चिम तर्फबाट आउने सबै कार्यकर्ताहरू भक्तपुरको गठ्ठाघर र पूर्व तर्फबाट आउने सबै जगातीमा जम्मा भई र्याली र जुलुससहित उद्घाटन स्थलसम्म पुग्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।
यस्तै महाधिवेशनको उद्घाटन सत्र र अन्य कार्यक्रमलाई व्यवस्थित गर्न पार्टीले १० हजार जना भन्दा बढी स्वयंसेवक खटाएको करिब ५ सय जना स्वयंसेवक ड्रेस कोडसहित परिचालन गर्ने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले बताउनुभयो ।
महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीमा नेपाल ट्रष्टको नाममा रहेको झण्डै एक सय रोपनी क्षेत्रफलमा फैलिएको चौरमा मञ्च निर्माण गरिएको छ भने सबै सहभागीहरूले मञ्चको दृश्य हेर्न र सुन्न सक्ने गरी अत्याधुनिक श्रव्य दृश्य सुविधाहरूको समेत व्यवस्था मिलाइएको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
भोली मङ्सिर २७ गते शनिबार देखि सुरु हुने एमालेको ११ औँ महाधिवेशन मङ्सिर २९ गते सम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्