तपाईँ सुन्दै हुनुहुन्छः

बैजनाथ कृषि तथा व्यापार पर्यटन महोत्सव आजदेखि सुरु

बाँके । बैजनाथ गाउँपालिका १, चिसापानीमा आज शुक्रबार दिउँसो २:०० बजे पहिलो पटक आयोजित प्रथम बैजनाथ कृषि तथा व्यापार पर्यटन प्रवर्द्धन महोत्सव २०८२ उद्घाटन हुँदैछ। महोत्सवको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्ने कार्यक्रम तय गरिएको छ। महोत्सवको संयोजक नरेश भामले सबै तयारीहरू पूरा भएको जानकारी दिएका छन्।

जागरण युवा क्लबको मुख्य आयोजनामा हुने महोत्सवमा १ सय २० भन्दा बढी व्यापारिक स्टल, कृषि र प्रविधिको प्रदर्शनी, थारु गाउँ, बाल उद्यान, र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। आर्थिक समिति संयोजक टोप बहादुर मल्लका अनुसार कार्यक्रमको सबै व्यवस्थापन पूर्ण भएको छ।

महोत्सवको विशेष उद्देश्य स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन हो। यसै क्रममा देउडा, थारु सांस्कृतिक झाँकी, स्थानीय पहिरन, नृत्य र गीतजस्ता विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति चिसापानी चिल्ड्रेन पार्कको खुला मैदानमा गरिनेछ। महोत्सवको मूल नारा “हाम्रो संस्कृति हाम्रो सान, सिर्जनाको सम्मान, नव प्रतिभाको पहिचान” रहेको छ।

आयोजक समितिले बैजनाथका सबै राजनीतिक दल, संघ-संस्था, उद्योगी-व्यापारी, शिक्षक, विद्यार्थी, युवा र आम नागरिकलाई महोत्सवको सफलता सुनिश्चित गर्न सक्रिय सहभागी हुने आह्वान गरेको छ। महोत्सव अवधिभर, बाँके, बर्दिया, सुर्खेतलगायतका क्षेत्रबाट झण्डै ५० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।

यस महोत्सवबाट संकलित आम्दानीले महोत्सव स्थल परिसरमा मन्दिर निर्माण, चिल्ड्रेन पार्कको स्तरोन्नति, र चिसापानी बजारमा सडक बत्ती जडानमा खर्च गरिने आयोजकले जानकारी दिएका छन्।

स्थानीय उत्पादन, कृषि, व्यापार र पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै आयोजित यस महोत्सवले चिसापानी क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button