लुम्बिनी लायन्स एनपिएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुगेको छ ।
आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो ।
लुम्बिनीले अब फाइनलमा शनिवार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे । रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए ।
बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशोधित जिसिले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । एनपिएलको फाइनल खेल शनिवार हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्