तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रण आफैँबाट सुरु गर्न युवा पुस्ताको जोड

चितवन । ‘आँखा चिम्म गरी सपनाको दुनियाँमा हराउनु पर्दैन, आफू सध्य छौँ भने कोहीसँग डराउनु पर्दैन’

जेनजी आन्दोलनका अगुवा अधिराज यादवले यो श्लोक वाचन गर्दा हलमा परर ताली बज्यो । जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा भ्रष्टाचारविरुद्धको अभियान चितवन एवं भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था, भ्रष्टाचारविरुद्ध जागरण अभियानले संयोजन कार्यक्रममा  यादवले भ्रष्टाचारविरुद्ध सबै जना एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । 

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित सुशासन र सदाचार प्रवद्र्धनमा प्रतिबद्धता कार्यक्रममा उहाँले देशमा भ्रष्टाचार नियन्त्रण गर्न चाहने हो भने सुरुआत आफैँबाट गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनैतिक दलदेखि सरकारी कार्यालयसम्म र घरदेखि सहरसम्म जताततै भ्रष्टाचारको गन्धले गन्हाएको छ । यसलाई सुधार गर्न लाग्नुपर्छ ।” युवा पुस्ताले यो कुरा बुझेको बताउँदै उहाँले अहिलेको समयमा पनि भ्रष्टाचार नियन्त्रण गर्न नसके कहिल्यै नहुने बताउनुभयो ।

जेनजी अगुवा आयुष पौडेलले सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्दै सरकारी सेवाहरू प्रविधिमैत्री बनाउन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने धारणा राख्नुभयो । गत भदौ २३ र २४ गते भएको प्रदर्शन भ्रष्टाचारविरुद्ध मात्रै नभएर अब युवा जागे है भन्ने सन्देश भएको बताउनुभयो । 

हरेक स्थानमा जनताको सहभागितालाई आत्मसात् गर्दै अघि बढ्न सके भ्रष्टाचार नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो । दलहरूले गरेका राजनैतिक नियुक्तिदेखि कर्मचारीहरूको कमिसनसम्म भ्रष्टाचारको जालो मौलाएको बताउँदै उहाँले यसलाई रोक्न सबै आ–आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताउनुभयो ।

जेनजी समूहका चितवन संयोजक आशीष सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाजदेखि सबै एक हुन जरुरी रहेको बताउनुभयो । अहिले देशमा केही परिवर्तन हुन्छ कि भन्ने आभास भएको भन्दै उहाँले जनताको खबरदारीले नै देश बन्ने बताउनुभयो । युवा पुस्ताको चाहनाअनुसार शासकहरू अघि नबढ्दा आफूहरू आन्दोलित बन्न बाध्य भएको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भ्रष्टाचार न्यूनीकरणका लागि युवा पुस्ताको भावनाअनुसार अघि बढ्न आवश्यक रहेको बताउनुभयो । युवा पुस्ताहरू यसमा चनाखो हुन आवश्यक रहेको उहाँको भनाइ थियो । 

सो अवसरमा बोल्ने वक्ताहरूले राजनैतिक दलका नेता एवं राज्य संयन्त्र चलाउने कर्मचारीहरू आफूबाट सुधार गर्दै जाँदा भ्रष्टाचार  निवारण गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस अगसरमा संविधानसभा सदस्य विष्णुमाया परियार, भ्रष्टाचारविरुद्धको अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषाल, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुली लगायतले भ्रष्टाचार घरघरबाट हटाउन आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button