तपाईँ सुन्दै हुनुहुन्छः

‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल पाँचौँ कला प्रदर्शनी’ सम्पन्न

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने हेतुले सुरु भएको ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल पाँचौँ कला प्रदर्शनी’ सम्पन्न भएको छ ।

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना भएको ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२ अन्तर्गत उक्त प्रदर्शनी कार्यक्रम भएको थियो । जसमा नेपाल कला यात्राका अभियन्ता तथा कलाकार नगेन सिंहले सिर्जना गरेका कलाकृतिहरु प्रदर्शनमा राखिएका थिए ।

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानअन्तर्गत सिहंले नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्दै आउनुभएको छ । उक्त पुस्तकलाई विश्वका १९७ वटा भाषामा प्रकाशन गर्ने लक्ष्य राखिएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोर्कण कार्कीले बताउनुभयो ।

अभियन्ता सिंहले महाअभियानमा रु एक सय योगदान गरेर जो–कोही सहभागी हुन सक्ने बताउनुभयो । हालसम्म एक हजार ८१५ जनाभन्दा बढी व्यक्तिहरू यस महाअभियानमा सहभागी भइसकेको उहाँले बताउनुभयो ।

नेपाल कला यात्रा पुस्तक प्रकाशन समिति संयोजक चिन्तामणि खरेलले अभियानमा एक सय रुपैयाँ वा सोभन्दा बढी योगदान गरेर सहभागी हुने सबै व्यक्तिहरूको नाम पुस्तकमा प्रकाशित जानकारी दिनुभयो । यसले सहभागीहरूलाई अभियानसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

पुस्तकमा कलाकार सिंहले नेपालका ७७ वटै जिल्लामा पुगेर त्यहाँका प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय क्षेत्र समेटेर चित्रकला सिर्जना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button