बडीमालिकामा दर्जनौँ बालबालिका विद्यालय बाहिर
बाजुरा। बाजुरामा बालबालिका अझै विद्यालयको पहुँच भन्दा बाहिर रहेका छन्।

जिल्लाको बडीमालिका नगरपालिकामा मात्र करिब ३६ जना बालबालिका अझै विद्यालय बाहिर रहेको तथ्य सार्वजनिक भएको छ। प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित ‘आभा परियोजना’ले गरेको सर्वेक्षणले ५ देखि १७ वर्ष उमेर समूहका २१ जना छात्र र १५ जना छात्रा गरी ३६ जना बालबालिका विद्यालय बहिर्गमन अवस्थामा रहेको पुष्टि गरेको हो।
आभा परियोजना संयोजक पदम बहादुर कठायतका अनुसार पालिकासँग समन्वय गर्दै प्रत्येक वडामा प्रतिनिधि खटाई गरिएको सर्वेक्षणमा बालबालिकाको उक्त सङ्ख्या विद्यालय बाहिर रहेको देखिएको र अन्तिम प्रतिवेदनमा केही थप हुन सक्ने जनाइएको छ। तथ्याङ्क सङ्कलन पछि ती बालबालिकालाई विद्यालयमा पुनः भर्ना गराउने योजना बनाउन जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखहरूसँग निरन्तर छलफल भइरहेको कठायतले जानकारी दिनुभयो। उक्त तथ्याङ्क सार्वजनिक कार्यक्रममा शारीरिक तथा बौद्धिक अपाङ्गता, आर्थिक अवस्था, र विभिन्न सामाजिक कारणले केही बालबालिका विद्यालय बाहिर रहेको भन्दै पालिकाले लक्षित नीति तथा योजना बनाएर विद्यालयमै ल्याउन आवश्यक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
कार्यक्रममा सहभागीहरूले नगरभित्रका प्रत्येक घरधुरीमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकाको यकिन विवरण सङ्कलन गर्ने, विद्यालय नआउनुको कारण पहिचान गर्ने र योजनाबद्ध रूपमा विद्यालयमा ल्याउन सबै लाग्नु पर्ने बताउनुभयो ।
बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा कुमारी थापाले अपाङ्गता भएका तथा भारतमा रहेका बालबालिकासहित सबैलाई समेटेर बृहत् छलफलमार्फत विद्यालयमा पुनः भर्ना प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्