बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन
बैतडी। बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।
यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार प्राविधिकसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो ।
नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा वडा नम्बर ५ को धुलिधार र रडीगाउँ, वडा नम्बर ६ को धुलिधार, कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नम्बर ७ को जित्कीजुँवाड, दाङलगायत क्षेत्रमा प्रारम्भिक अध्ययन गरिएको हो । “बोर्डका अधिकारीहरूले सम्भावित स्थानको माटो नमुना परीक्षणका लागि लगेका छन् । यसको रिपोर्ट आउन दुई हप्ता लाग्छ”, उहाँले भन्नुभयो, “अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ ।”








प्रतिक्रिया राख्नुहोस्