तपाईँ सुन्दै हुनुहुन्छः

बक्यौता असुलीमा कडाइ, नेपालगञ्जमा एकैदिन २५ लाखभन्दा बढी असुल

बाँके। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बक्यौता असुली अभियानलाई कडाइका साथ अघि बढाउँदै सोमबार मात्रै २५ लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ ।

मंसिर १४ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत नेपालगञ्ज वितरण केन्द्र र खजुरा उप–वितरण केन्द्रबाट एकैदिन करिब ११५ जना ग्राहकको लाइन काटिएको छ ।

नेपालगञ्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रका अनुसार सोमबार ७ लाख ६३ हजार ८ सय ८९ रुपैयाँ बक्यौता रहेका ६५ ग्राहकको लाइन काटिएको थियो । लाइन काटिएकामध्ये ५५ जना ग्राहकले भुक्तानी गरी पुनः सेवा जडान गर्दा एकैदिन २० लाख १० हजार ६ सय ४५ रुपैयाँ राजस्व उठेको उहाँले जानकारी दिनुभयो ।

खजुरा उप–वितरण केन्द्रमा पनि अभियान प्रभावकारी बनेको केन्द्रका इन्चार्ज दिनेश कुमार वलीले बताउनुभयो । उहाँका अनुसार सोमबार ४८ ग्राहकको लाइन काटिएको थियो । तीमध्ये २७ जनाले भुक्तानी गरी लाइन पुनः जडान गर्दा ५ लाख ८ हजार १ सय ७६ रुपैयाँ असुल भएको छ ।

नेपाल विद्युत प्राधिकरणले बक्यौता असुलीका लागि जरिवाना, लाइन विच्छेदलगायत कडाइका उपाय अपनाउँदै अभियान निरन्तर जारी राखेको र उपभोक्तालाई समयमै बिल तिर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button