तपाईँ सुन्दै हुनुहुन्छः

आइटिएफ जे-३० वर्ल्ड टेनिस टुर अन्तर्गत सर्किट–२ का खेल सुरु

पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ अन्तर्गत दोस्रो सर्किट अन्तर्गत केही खेलहरू सोमबारदेखि सुरु भएका छन् । 

अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को स्वीकृति तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स राउण्ड ३२ तर्फ शीर्ष वरीयता प्राप्त टिङ–हो याङ (चाइनेज ताइपेइ) ले तेजस रवि (भारत) लाई ६–२, ६–४ ले पराजित गर्नुभयो । भारतका प्रतीक सेओरानले नेपालका आयुष्मान् हजुर घलेलाई कडा प्रतिस्पर्धामा २–६, ६–३, ६–४ ले पराजित गर्नुभयो ।

भारतकै शशाङ्क साई प्रसाद कर्नाटीले कोरियाका ह्यो जिन हालाई ६–३, ६–२ ले सोझो सेटमा पराजित गर्नुभयो । त्यस्तै यान्शुओ पान (चीन) ले नेपालका असव सम्राट हाडा लाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्नुभयो । त रोबर्ट डोल्या (सिंगापुर) ले क्युङबिन आन (कोरिया) लाई ७–५, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा यात्रा तय गर्नुभयो ।

भारतका माधव दीक्षितले नेपालका दर्शील श्रेष्ठ विरुद्ध पहिलो सेट गुमाए पनि शानदार पुनरागमन गर्दै ४–६, ६–४, ६–२ ले जित हासिल गर्नुभयो । यश कुमार (भारत)ले बङ्गलादेशका खाब्बो गयेन लाई ६–४, ७–६(४) ले पराजित गर्नुभयो । यसै गरी युल हो जुंग (कोरिया)ले नेपालका राजवीर प्रधान विरुद्ध सङ्घर्षपूर्ण खेलमा ६–४, २–६, ६–३ को जित हात पार्नुभयो । नेपालका करण थापाले बङ्गलादेशका एमडी महाद बिन मलेक महाद लाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्नुभयो ।

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत पहिलो दिन सम्पन्न गर्ल्स सिङ्गल्स राउन्ड अफ ३२ का खेलहरूमा धेरै खेलाडीहरूले दबाबपूर्ण र प्रभावशाली जित दर्ता गर्दै दोस्रो चरणमा स्थान बनाउनुभएको हो । भारतकी मेहा पाटिलले नेपालकी साल्भी शेरचनलाई ६–०, ६–० को सहज जित दर्ता गर्नुभयो । भारतकै ध्रुती गुन्डुले बङ्गलादेशकी येआना चौधरी लाई ६–२, ६–४ ले हराउँदै दोस्रो चरणमा यात्रा तय गर्नुभयो ।

सातौं वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई भारतकी रञ्जना सङ्ग्रामले ६–०, ६–४ ले पराजित गर्न सफल हुनुभयो । बुल्गेरियाकी सोफिया जाखारकिभले भारतकी इशा शर्मा विरुद्ध तीन सेटको सङ्घर्षपूर्ण खेलमा ६–१, ४–६, ६–२ को जित हात पार्न सफल हुनुभयो ।

प्रतियोगितामा ब्वाइज डबल्स तथा गर्ल्स डबल्स तर्फका खेलहरू समेत जारी रहेका छन् । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेका छन् । केही दिन अघि मात्र सर्किट वान सम्पन्न भएको कास्की टेनिसका सचिव भीष्मराज पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button