कर्णालीमा सामाजिक सुरक्षा कोषको दायरा न्यून
सुर्खेत। सामाजिक सुरक्षा कोषको दायरा कर्णालीमा कमजोर देखिएको छ ।

मानव विकास सूचकाङ्कको पुछारमा सूचीकृत कर्णालीमा कोषको दायरा व्यापक हुनुपर्नेमा न्यून रहेको कोषकै तथ्याङ्कले देखाएको हो । सङ्घीय सरकारले श्रमिकको हक सुनिश्चित गर्ने उद्देश्यले सात वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात गरेको थियो । उक्त कोषको मुख्य उद्देश्य नै अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु हो ।
योगदानमा आधारित योजना अन्तर्गत पाँच वटा सुविधाहरू उपलब्ध गराइन्छ । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना छन् । कोषका उपनिर्देशक डा. सचितकुमार भण्डारीका अनुसार कर्णालीमा हालसम्म २ सय ९४ रोजगारदाता मात्रै कोषमा आबद्ध भएका छन् । उहाँले कर्णालीबाट २ हजार ६ सय ९५ जना मात्रै अनौपचारिक क्षेत्रका मजदुर तथा स्वरोजगार व्यक्ति कोषमा आबद्ध रहेको बताउनुभयो । जुन अन्य प्रदेशको तुलनामा निकै कम हो । कोषमा आबद्ध गर्न तीनै तहका सरकार र रोजगारदातालाई बढी जिम्मेवार बन्नु पर्ने बताउँदै उहाँले कर्णालीमा कोषको कार्यालय स्थापना नहुनु, रोजगारदाता, श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषका बारेमा थाहा नहुनु, स्थानीय तथा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा प्राथमिकता नदिनु जस्ता कारणले कोषमा आबद्धता हुनेको सङ्ख्या कम हुन पुगेको बताउनु भयो । त्यसैले अब कर्णालीमा छिट्टै कार्यालय स्थापना गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
२०७७ साल मै कर्णालीमा कार्यालय स्थापना गर्ने तयारी गरिए पनि अर्थ मन्त्रालयबाट सहमति नपाउँदा ढिलाइ भएको उहाँले बताउनु भयो । हाल कर्णालीबाट कोषमा २७ हजार ७ सय ५९ जना योगदानकर्ता छन् । कोषको तथ्याङ्कअनुसार सबैभन्दा बढी सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ता बागमती प्रदेशबाट छन् । बागमती प्रदेशमा १४ हजार ८ सय ३८ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा ४ लाख ८२ हजार ९०७ योगदानकर्ता छन् । यस्तै, दोस्रोमा सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रदेश कोसी छ । कोशीमा २ हजार ४ सय ७५ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ताको सङ्ख्या ७२ हजार ३ सय ५९ रहेको उपनिर्देशक भण्डारीले बताउनुभयो । यस्तै, लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६५ रोजगारदाता रहँदा २५ हजार १ सय १३ योगदानकर्ता छन् । गण्डकीमा १ हजार २ सय ६ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएको तथ्याङ्क कोषसँग छ । यस प्रदेशबाट सामाजिक सुरक्षा कोषमा २७ हजार ७ सय ५९ जना योगदानकर्ता छन् । १ हजार २१४ रोजगारदाता रहेको मधेसमा ३१ हजार ६ सय ७६ जना योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको तथ्याङ्कले देखाउँछ । यद्यपि ! सुदूरपश्चिम प्रदेशमा समेत सामाजिक सुरक्षा कोषको दायरा सन्तोषजनक छैन । सुपमा ३ सय ६३ रोजगारदाता रहँदा ४ हजार १२७ योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध छन् ।
कोषका अनुसार कुल २६ लाख २९ हजार ४ सय २९ श्रमिक तथा स्वरोजगार व्यक्ति योगदानकर्ता छन्, जसमा ६ लाख ४६ हजार ६ सय ३७ जना स्वदेशमै काम गर्ने छन् भने, १९ लाख ८१ हजार ४ सय ९६ वैदेशिक रोजगारीमा छन् । ७ सय ९८ अनौपचारिक र ५ सय ६७ जना स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । कोषको कुल रकम ९५ अर्ब पाँच करोड पुगेको छ भने, १७ अर्ब ५५ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ ।
नेपालमा श्रम शक्ति सर्वेक्षणअनुसार १५ वर्षमाथिका जनसङ्ख्या मध्ये ३८.५ प्रतिशत श्रम शक्ति बजारमा छ । यी मध्य महिला २६.३, पुरुष ५३.८ प्रतिशत श्रम शक्ति छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने १८.०४ प्रतिशत गरिब छन्, भने औपचारिक क्षेत्रमा काम गर्ने २.९८ प्रतिशत गरिब छन् । अनौपचारिक क्षेत्र त्यसमा पनि कृषि क्षेत्रमा काम गर्ने ३७.८ प्रतिशत मजदुर गरिबीको रेखामुनि रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्