नेपालगन्जमा बिधुतको बक्यौता असुली अभियान तीव्र : एक सातामा २१ लाखभन्दा बढी रकम उठ्यो
बाँके । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध कडाइका साथ सञ्चालन गरेको अभियानबाट एक सातामै २१ लाखभन्दा बढी रकम असुल गरेको छ।

मङ्सिर १४ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत अहिलेसम्म ५२ लाख १३ हजार ४ सय ६१ रुपैयाँ बराबरको बक्यौता असुलीका लागि कुल ३२२ जना ग्राहकको विद्युत् लाइन काटिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।
आइतबार मात्र १७ लाख ९७ हजार १ सय ७७ रुपैयाँ बक्यौता रहेका १२१ ग्राहकको लाइन विच्छेद गरिएको थियो। तीमध्ये १ सय ३३ जना ग्राहकले बक्यौता तिरेपछि लाइन पुनः जडान गरिएको छ। यसैक्रममा २१ लाख ७६ हजार ५ सय १७ रुपैयाँ उठेको वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राले जानकारी दिनुभयो।
आइतबार मात्रै ६ लाख ८९ हजार ४ सय ३१ रुपैयाँ असुल भएपछि ४४ जनाको विद्युत् सेवा पुनः सुचारु गरिएको केन्द्रले जनाएको छ। यही क्रममा कालोपाटीमा सूचिकृत एक जना ग्राहकबाट १ लाख रुपैयाँ बक्यौता समेत असुल गरिएको छ।
बक्यौता असुली अभियान अझ कडाइका साथ निरन्तर जारी रहने प्रमुख मिश्राले बताउँदै भन्नुभयो, ‘सबै ग्राहकलाई समयमा नै विद्युत् महसुल तिर्न आग्रह गर्दछु । प्राधिकरणको विनियम अनुसार ६१ दिनभन्दा बढी बक्यौता राख्ने ग्राहकको विद्युत् लाइन जुनसुकै बेला काट्न सकिने व्यवस्था छ।








प्रतिक्रिया राख्नुहोस्