देशभक्तहरू एक हुनुको विकल्प छैन : नेकपा नेता रावल
कैलाली । नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भिम रावलले देशलाई बचाउनका लागि सम्पूर्ण देशभक्तहरू एक हुनुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी कैलाली क्षेत्र नम्बर एकले टीकापुर आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई प्रगतिशील बाटोमा हिँडाउन आफ्नो स्वार्थलाई देशको स्वार्थको अधिनमा राखी अगाडी बढ्न नेता कार्यकर्तालाई आग्रह गर्दै अन्य पार्टीमा भएका प्रगतिशीलहरूलाई पनि पार्टीमा एकजुट हुन आव्हान गर्नुभयो ।
अहिलेको सरकारको काम निर्वाचन गराउनु र भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नु भएकाले अहिलेको सरकारले अन्य काम गर्नु भन्दा त्यसमा सक्रिय हुनु पर्ने बताउनुभयो ।
अर्का नेता नेपबहादुर चौधरीले राष्ट्रमा निराशा उत्पन्न भएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै देश बचाउन कम्युनिस्टहरू एक ठाउँमा गोलबन्द भइरहेको र गोलबन्द हुने अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।
अर्का नेता गीता सोडारीले जेनजी आन्दोलनका कारण सबैलाई एक जुट हुन बाध्य पारेको बताउँदै यो एकतालाई सार्थकतामा पुगाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
मञ्चमा कविता सुनाउन पुग्नुभएका साहित्यकार बालकृष्ण खनालले कविता वाचनपछि नेताहरूलाई सुझाव दिँदै जेनजीहरुले नेताहरूका कान खोलिदिएकोले जुँगाको लडाई नलड्न र भागबन्डामा नफुट्न आग्रह दिनुभयो ।
रङ्गप्रसाद अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत ओजारीलाल चौधरीले गर्नुभएको थियो । सुरेन्द्र देउकरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्