मधेश प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको छ ।
मधेश भवनमा प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजना गरिएको सपथ ग्रहण समारोहमा मुख्यमन्त्री यादवलाई नेपालको संविधानको धारणा १६८ को उपधारा २ अनुसार ६ दलको ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख डा कर्णले शपथ ग्रहण गराउनु भएको हो ।

गत शुक्रबार नेपाली कांग्रेस सहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
शपथग्रहण गर्नु भएका मुख्यमन्त्री यादव नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता रहनु भएको छ । उहाँ रौतहट निर्वाचन क्षेत्र नंं १ वाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य रहनु भएको छ ।
शपथग्रहण समारोहमा मधेश प्रदेशका उपसभामुख बबिता राउत ईशर, पूर्व मुख्यमन्त्रीहरू लालबाबु राउत, सरोज कुमार यादव, सतिश कुमार सिंह, जितेन्द्र प्रसाद सोनार, सरोज कुमार यादव, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, गठबन्धन दलका नेता एव पूर्व मन्त्री मातृका प्रसाद यादव, महेन्द्र यादव सहितका नेताहरू उपस्थित रहनु भएको थियो ।

यस अघि नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त हुनु भएका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतको परमादेश अनुसार २४ घण्टाभित्र विश्वासको मत लिनु पर्नेमा पाउने अवस्था नदेखेपछि राजीनामा दिनु भएपछि मधेशमा काँग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेको थियो ।
यादव एक महिना अघि मुख्यमन्त्री बन्न लागेपनि जनमत पार्टीले धोका दिँदै गठबन्धन परिवर्तन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) मुख्यमन्त्री बन्नु भएको थियो । उहाँले पनि विश्वासको मत पाउन नसकेपछि पदबाट राजीनामा दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्