तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा चलचित्र तथा लघुचलचित्र सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण

जनकपुरधाम । मधेस प्रदेश सरकार अन्तर्गत रहेको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डले मैथिली भाषामा निर्माण हुने चलचित्र तथा लघुचलचित्रमा भाषिक शुद्धता र साहित्यिक प्रस्तुति सुधार गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

विभिन्न विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रशिक्षणमा चलचित्र तथा लघुचलचित्र निर्माणका क्रममा प्रयोग हुने संवादलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मार्गदर्शन प्रदान गरिएको छ। साथै, चलचित्रमा आवश्यक मैथिली भाषिक शैली, उच्चारण, वाक्य संरचना, व्यवहारिक स्क्रिप्ट लेखन, संवाद लेखन अभ्यास तथा सहभागीकै प्रयासमा लघु स्क्रिप्ट तयार गर्ने कार्यसमेत समावेश गरिएको बोर्डका अध्यक्ष किशोर कुमार लेखीले जानकारी दिनुभयो।

प्रशिक्षणमा मैथिली भाषा–साहित्यका प्राध्यापक तथा मैथिली चलचित्र क्षेत्रमा कार्यरत प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन्। जनकपुरधामस्थित मैथिली विकास कोषको सभाकक्षमा सुरु भएको कार्यक्रममा ६० जना विद्यार्थीको सहभागिता रहेको बोर्डका प्रशासकीय अधिकृत राधेशंकर पालले बताउनुभयो।

बालबालिकाद्वारा निर्माण हुने लघुचलचित्रमा देखिने भाषिक अशुद्धता तथा समाजमा नकारात्मक प्रभाव पार्ने शब्दहरूको प्रयोग सुधार गर्न यस्तो कार्यक्रम उपयोगी हुने बताउँदै मैथिलीका प्रसिद्ध गायक सुनिल मल्लिकले बोर्डलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा निरन्तरताको आग्रह गर्नुभयो।

त्यस्तै, चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डकी सदस्य तथा कलाकार रिना यादवले चलचित्रमा प्रयोग हुने संवादले समाजमा ठुलो प्रभाव पार्ने भएकाले यस प्रकारको प्रशिक्षण पहिलो पटक आयोजना गरिएको र यसले भाषिक शुद्धता कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

दुई दिने प्रशिक्षणमा मैथिलीका उपप्राध्यापक श्यामसुन्दर शशी तथा पुर्णेन्दु कुमार झा प्रशिक्षकका रूपमा रहनुभएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थी स्वस्तिक मण्डल, चाँदनी खातुन र कुनाल मिश्रले संयुक्त रूपमा प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button