तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

धनुषा। मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै छन् । 

पैदल यात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाउँ छनोट गरेर करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई उज्ज्वल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेका बताउनुभयो । 

उहाँले भन्नुभयो, “एक महिनादेखि तीनै स्थानमा पिल्लर निर्माणलगायत आवश्यक आधारभूत संरचना बनाइरहेका छौँ । निर्धारित समय सीमाभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।”

इन्जिनियर झाका अनुसार तीन वटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा रु तीन करोड ४२ लाख, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा रु तीन करोड ३५ लाख र सखुवा चोकमा रु तीन करोड ४५ लाख रुपैयाँमा बनिरहेका छन् । सबै पुल पाँच दशमलव छ मिटर उचाइ, २९ दशमलव चार मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकासे पुल निर्माणपछि जनकपुर–ढल्केबर सडक खण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताउनुभयो । उहाँका अनुसार यहाँ दैनिक हजारौँ पैदल यात्रु र सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च आएको छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकाले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो । स्थानीय रोहितराज खनालले आकासे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केवर सडक खण्डमा  ट्राफिक व्यवस्थापन र सहरी  सौन्दर्यीकरणमा मद्दत पुग्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button