बूढीगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री कार्की

काठमार्डाैँ । प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर बापतको रकम पनि प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिहरूसँग आज छलफल गर्नुहुँदै ऊर्जा र अर्थ मन्त्रालयलाई यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिनुभएको छ।
त्यस क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत् आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिनुभयो।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरूको पनि सहभागिता थियो।
१ हजार २०० मेगावाटको यस जलविद्युत आयोजनाको लागत २०७९ मा २ खर्ब ५५ अर्ब अनुमान गरिएको थियो। अब यो लागत ४ खर्ब नाघ्ने अनुमान छ।
नेपाल सरकारले जग्गा अधिग्रहण गरी ४२ अर्ब रुपैयाँ स्थानीय जग्गाधनीलाई मुआब्जा पनि दिइसकेको छ। काठमाडौँ, पोखरा र चितवनजस्ता ठूला सहरको बीचमा रहेको यो आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा ८ वर्ष लाग्ने आँकलन छ।









प्रतिक्रिया राख्नुहोस्