मधेश प्रदेश : नयाँ सरकार गठनका लागि आह्वान
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) अनुसार राजीनामा दिने घोषणा प्रदेशसभामा गर्नुहुँदै प्रदेश प्रमुख समक्ष राजीनामा गरेको केही मिनटमा नै प्रदेश प्रमुखले राजीनामा स्वीकृत गर्नुभएको हो ।
मुख्यमन्त्री पदबाट सरोज कुमार यादवले दिनुभएको राजीनामा प्रदेश प्रमुख कर्णले स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले सूचना प्रकाशित गरेर जानकारी दिनुभएको हो ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई काम चलाउ प्रदेशको मन्त्रिपरिषद्को रुपमा कार्यभार सञ्चालन गर्नका लागि तोक्नु भएको निमित्त सचिव यादवले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख कर्णले सर्वोच्च अदालतको परमादेश अनुसार नै नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने अवस्था रहेको छ ।
यसै बीच प्रदेश प्रमुखले आजै संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्