तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीदेखि जीप–सफारीसम्म: बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चाप दैनिक बढ्दै

बाँके ।बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। वन्यजन्तुहरूको बासस्थान संरक्षण र व्यवस्थापनमा गरिएको निरन्तर प्रयासका कारण निकुञ्जभित्र वन्यजन्तुको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएपछि यहाँको पर्यटन गतिविधि समेत तीव्र बनेको हो।

निकुञ्जले बाघ, जङ्गली हात्ती, मृग, जरायो लगायतका दुर्लभ वन्यजन्तुका बासस्थानलाई सुरक्षित र व्यवस्थित बनाउँदै लगेकाले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण झन् बढेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कँडेल बताउनुहुन्छ। उहाँको भनाइ अनुसार १६ वटा पानीपोखरी, व्यवस्थित घासे मैदान, प्राकृतिक ताल–तलैया, वन्यजन्तु अवलोकनका लागि तयार गरिएका मचान तथा जीप सफारीका सहज प्रबन्धहरूले निकुञ्ज भ्रमणलाई आकर्षक र अनुभव सम्पन्न बनाएको छ।

 जैविक विविधताले भरिपूर्ण तथा भौगोलिक हिसाबले वन्यजन्तुका लागि अत्यन्त उपयुक्त मानिने बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय बाघ अवलोकनको प्रमुख गन्तव्यका रूपमा उभिएको छ। खासगरी भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकहरू बाघ अवलोकनका लागि बाँके आउने गरेका छन्। “बाघ हेर्न चाहने पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज महत्वपूर्ण हबका रूपमा स्थापित हुँदै गएको छ। यसको प्रभावकारी प्रचार–प्रसारमा सञ्चार माध्यमले पनि विशेष भूमिका खेल्नुपर्ने देखिन्छ,” नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया बताउनुहुन्छ।

नेपालको पश्चिम भागमा अवस्थित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटनको सम्भावना प्रचुर रहेको विशेषज्ञहरू बताउँछन्। प्राकृतिक सम्पदा, वन्यजन्तुको विविधता, शान्त वातावरण, जङ्गल सफारीको रोमाञ्च र आधुनिक पर्यटक संरचनाले गर्दा यहाँ आउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। निकुञ्जभित्र बनाइएका पोखरी, व्यवस्थित घासे मैदान र अवलोकन मचानहरूले पर्यटकलाई वन्यजन्तु चिन्न र बुझ्न सहज बनाएको छ।

विशेषगरी हाल जीप सफारी प्रति पर्यटकको आकर्षण तीव्र रूपमा बढेको छ। घना जङ्गलभित्र छिर्ने र बाघ, मृग, हात्ती, चराचुरुङ्गीले देख्न पाउने अनुभव पर्यटकका लागि निकै नयाँ र रोमाञ्चक मानिन्छ। यसका कारण आन्तरिक पर्यटक मात्र होइन, दक्षिण एसियाका विभिन्न देशबाट पनि बाँके आउने क्रम तीव्र हुँदै गएको छ।

स्थानीय आर्थिक गतिविधिमा पनि बाँके राष्ट्रिय निकुञ्जले सकारात्मक प्रभाव पारेको छ। होटल, होमस्टे, गाइड, जीप–सफारी व्यवसाय, हस्तकला तथा स्थानीय उत्पादनहरूका माध्यमबाट थुप्रै रोजगारी सिर्जना भएको छ। निकुञ्जलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक थप संरचना निर्माण र प्रचार–प्रसारको आवश्यकता रहेको पर्यटन व्यवसायीहरू बताउँछन्।

समृद्ध जीवविविधता, सुरक्षित बासस्थान, व्यवस्थित पर्यटक सुविधा र बाघ अवलोकनको दुर्लभ अवसरले बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्यटकहरूको पहिलो रोजाइ बन्दै गएको छ। संरक्षण र पर्यटनप्रति स्थानीय तथा सरकारी निकायको ध्यान अझै प्रभावकारी बनेमा बाँके राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित हुने निश्चित देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button