तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन: उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी नहुने भएका छन् । 

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

“महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरूलाई नबोलाउने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो, “महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।”

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button