चलचित्र विधेयक अघि बढाउने सहमति
काठमाडौँ । राष्ट्रियसभाको विषयगत समितिमा अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ । विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकार, सांसदहरु र सरोकारवालाहरूको छलफलपछि विधेयक चलचित्र क्षेत्रको आवश्यक बुँदाहरू थपेर संशोधनसहित अघि बढ्ने सहमति जुटेको हो ।
बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको बताएपछि चलचित्रकर्मी, निर्माता संघ र अन्य सरोकारवालाहरू पनि विधेयक संशोधनको पक्षमा देखिएका हुन् ।
बैठकमा सुझाव दिन पुग्नुभएका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला,निर्माता संघका महासचिव खगेन्द्र लामिछाने तथा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीलगायतले चलचित्र विधेयक चलचित्र क्षेत्रको विधि आयामलाई समेट्ने गरी संशोधन गर्नु आवश्यक भएको बताउनुभयो ।
बैठकमा समिति सभापति तुलसा कुमारी दाहालले विधेयकमा विभिन्न चरणमा सरोकारवाला, विज्ञ र सांसदहरूसँग छलफल गरी दफावार छलफलमा अघि बढ्न समिति तयार रहेको बताउनुभयो । समितिले संशोधनका लागि सरोकारवालाहरूसँग लिखित सुझाव समेत मागेको छ ।








प्रतिक्रिया राख्नुहोस्