तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कुपोषण बढ्दै, बालबालिकामा पुड्कोपनको समस्या

नेपालगञ्ज। बाँकेमा बर्षेनी कुपोषण बढ्दै गइरहेको छ । 

पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको समस्या बढी देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ५४७ जनामा कुपोषण देखिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो । जबकि आर्थिक वर्ष २०७९/०८० मा ४२५ जना कुपोषित बालबालिका पहिचान भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा ४३७ जना कुपोषित बालबालिका पहिचान भएका छन् ।

कुपोषित बालबालिकाको अवस्था पहिचान भए पनि कुपोषणकै कारण मृत्यु भएको तथ्याङ्क भने छैन । पछिल्ला तीन आर्थिक वर्षमा कुपोषण दर बढेको देखिन्छ । पछिल्लो समयमा स्वास्थ्य सचेतनाका गतिविधि बढ्नु र परीक्षण दर पनि बढेकाले कुपोषित बालबालिकाहरूको सङ्ख्या बढेको श्रेष्ठ बताउनुहुन्छ । ‘स्वास्थ्यकर्मीहरू समुदायस्तरमा पुगेर बच्चाहरूको तौल लिने, हातको मापन गर्नेदेखि समग्र बालबालिकाको अवस्था पहिचान गर्ने काम भइरहेको छ’, श्रेष्ठले भन्नुभयो– ‘जसका कारण समुदायमा लुकेर रहेका कुपोषित बालबालिकाहरूको पहिचान हुँदा सङ्ख्या बढेको हो ।’ बालबालिकाहरूले पर्याप्त मात्रामा पोषिलो खाना खान नपाउनु नै कुपोषणले जरा गाड्नुको प्रमुख कारण रहेको चिकित्सकहरू बताउँछन् ।

विशेषगरी ग्रामीण भेग, आर्थिक रूपमा कमजोर परिवार, विपन्न समुदाय, विपद्ग्रस्त क्षेत्र र शिक्षाको स्तर कम भएका परिवारमा बालबालिका कुपोषणको उच्च जोखिममा हुन्छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. अनुप सिंह रनहोत्राका अनुसार बालबालिकाहरूले खानामा पर्याप्त प्रोटिन नपाउँदा कुपोषित हुने जोखिम बढी हुन्छ । गर्भवती महिलाले नियमित फोलिक–आइरन चक्की खाने, प्रोटिनयुक्त खाना खाने र नियमित स्वास्थ्य चेकजाँच गर्ने हो भने कुपोषित बालबालिका जन्मने जोखिम कम हुने भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउनुहुन्छ ।

भेरी अस्पतालमा पोषण पुनःस्थापना केन्द्र स्थापनाको दुई दशक पूरा भइसकेको छ । २०६१ सालमा स्थापना भएको यो केन्द्र नेपालकै पहिलो हो । कुपोषित बालबालिकालाई निःशुल्क उपचार गरी पूर्ण रुपमा स्वस्थ बनाउनु यसको उद्देश्य हो । केन्द्रका प्रमुख दामोदर खनालका अनुसार केन्द्रमा कुपोषित बालबालिकाको सम्पूर्ण उपचार निःशुल्क हुन्छ । केन्द्रमा १७ वटा बेड छन् । कुपोषण पुष्टि भएर आएका नेपालका जुनसुकै बालबालिकाहरूलाई केन्द्रमा निःशुल्क उपचार प्रदान गर्ने गरिएको उहाँको भनाइ छ । तर, धेरैलाई केन्द्रले प्रवाह गर्ने सेवाबारे जानकारी नहुँदा निःशुल्क रुपमा पाउने सेवा पनि लिन सकिरहेका छैनन् ।

सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने सरकारको पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य छ । तर, बाँकेको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन सहज छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button