तपाईँ सुन्दै हुनुहुन्छः

जानकी–५ मा स्वास्थ्य शिविर, अधिकांशमा कानसम्बन्धी समस्या

बाँके । बाँकेको जानकी गाउँपालिका–५, बेलहारीस्थित वडा कार्यालय परिसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत ७ महिनादेखि ८५ वर्ष उमेर समूहका १६० जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।

स्वास्थ्यकर्मीका अनुसार शिविरमा जाँच गराएका करिब ६० प्रतिशत बिरामीमा कानसम्बन्धी समस्या देखिएको छ। साथै, नाक, घाँटी तथा सामान्य रोगका बिरामीको पनि विस्तृत जाँच गरिएको थियो।

शिविरको उद्घाटन वडा अध्यक्ष टिकानाथ यादवले आफ्नै कान परीक्षण गराएर गर्नुभयो। गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराएकोमा उहाँले नेपालगन्ज–१० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रप्रति आभार व्यक्त गर्दै यस्ता सेवा निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो।

शिविर सञ्चालनमा जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका लवकुश यादव र श्रवणकुमार यादव सक्रिय रूपमा संलग्न रहनुभएको थियो। वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश बसेल, सहायक चिकित्सक दुर्गेश यादवसहितको टोलीले दिनभर स्थानीयलाई स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो।

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका गरीब, उपेक्षित र असहाय समुदायलाई लक्षित गर्दै निरन्तर सेवा दिँदै आएको संस्था हो।

शिविरमा सहभागी स्थानीयले ‘घरमै आएर गुणस्तरीय सेवा पाएको’ भन्दै खुशी व्यक्त गर्दै यस्ता पहलले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button