तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका साझेदारी मजबुत पार्ने प्रतिबद्धतासहित अन्तरपालिका पालिकाको समन्वय बैठक सम्पन्न

बाँके । सहकार्य, साझेदारी र स्थानीय सेवा प्रभावकारितालाई केन्द्रमा राखेर बाँकेको जानकी गाउँपालिकामा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजनामा बाँकेका ८ वटा स्थानीय तह र दाङको दुई पालिका बिच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।

बैठकमा विभिन्न ६ वटा विषयमा छलफल तथा निर्णय गरिएको छ । अन्तर पालिका समन्वय तथा साझेदारी, अन्तर पालिका असल अभ्यासहरू आदानप्रदान, वृहत् पूर्वाधारको विकासमा साझेदारी, विपद व्यवस्थापनमा समन्वय, दमकल तथा एम्बुलेन्स व्यवस्थापन, पर्यटन प्रविधि, संस्कृतिको विकास तथा प्रवद्र्धन र स्थानीय बजार व्यवस्थापन सम्बन्धमा छलफल तथा निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनु भयो ।

बैठकमा अन्तरपालिकामा अभिमुखीकरण र दमकल सञ्चालनमा सहकार्य गर्ने निर्णय गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खानले बताउनु भयो । सितलहरबाट प्रभावित हुने नागरिकहरूको तथ्याकं सङ्कलन गरी उचित राहतको व्यवस्था मिलाउने निर्णय गरिएको छ भने जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको बाँकेको ४ वटा स्थानीय तहहरूमा भएको क्षति पश्चात् सञ्चालन गर्न सहयोग गरेका स्थानीय तहहरूलाई धन्यवाद दिने निर्णय गरिएको छ ।

त्यस्तै बैठकमा पालिकाका सीमाहरूमा देखिने समस्या र पूर्वाधार निर्माणमा समन्वय गरेर अगाडी बढ्ने सहमति भएको छ । बैठकमा अन्तरपालिका जनप्रतिनिधि र कर्मचारी बिच सिकाई आदान प्रदान गर्ने, नियमित समन्वय गर्ने निर्णय भएको छ ।

जानकी गाउँपालिकाका गाउँपालिका अध्यक्ष छब्बन खानको अध्यक्षतामा सञ्चालन भएको बैठकमा आन्तरिक मामिला  तथा कानून मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङ, प्रहरी उपरिक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरिक्षक शोभाकान्त खना, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली, पत्रकार आलम खान लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button