तपाईँ सुन्दै हुनुहुन्छः

ऐच्छिक प्रणालीले कम्प्युटर शिक्षा कमजोर

वीरगञ्ज । तीन वर्ष अगाडीसम्म अनिवार्य रूपमा पढाइँदै आएको कम्प्युटर शिक्षा ऐच्छिक बनाएपछि  अहिले पर्सा जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पठन पाठन कमजोर बन्दै गएको छ । 

कम्प्युटर शिक्षा अनिवार्य भएपछि विद्यालयहरूले कम्प्युटर ल्याब निर्माणदेखि उपकरण खरिदसम्म तयारी गरेका भए पनि अहिले विषयगत शिक्षक अभाव र ऐच्छिक प्रणालीका कारण कम्प्युटर शिक्षा कमजोर बन्दै गएको हो ।

अघिल्लो संरचनामा अनिवार्य भएकाले धेरै सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो । केही विद्यालयमा प्रयोगात्मक शिक्षा राम्रो थियो भने कतिपयमा नाम मात्रको अध्यापन हुँदै आएको थियो । ल्याब त निर्माण भयो तर प्रयोगात्मक कक्षा चलाउने प्राविधिक जनशक्ति अभाव हुँदा समस्या भएको शिक्षकहरूको गुनासो छ ।

ऐच्छिक बनेसँगै विद्यालयमा कम्प्युटर पढाउने विद्यार्थी सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । विषयगत शिक्षक नहुँदा अन्य विषयका शिक्षकमार्फत कक्षा सञ्चालन हुने गरेको र यसले विद्यार्थीहरूको जिज्ञासा समाधान तथा प्रयोगात्मक सीप विकासमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो छ । प्रयोगात्मक कार्य रोकिएपछि विद्यार्थीको लगाव झनै कम हुँदै गएको छ ।

पोखरिया नगरपालिकाको रानीगंजस्थित पद्म महोवनी माध्यमिक विद्यालयका प्रधानाध्यापक पर्वत ठाकुरका अनुसार अनिवार्य शिक्षा अवधिमा खरिद गरिएका सात थान कम्प्युटर अहिले प्रयोगविहीन अवस्थामा बक्सामै थन्किएका छन् । “विषयगत शिक्षक छैनन्, पढाइ पनि हुँदैन । विद्यार्थीको गुणस्तर वृद्धि होस् भनेर गरिएको लगानी अहिले बेकार भएको छ,” प्रधानाध्यापक ठाकुरले बताउनुभयो । 

पोखरिया नगरपालिकाभित्रका जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, नेपाल राष्ट्रिय मावि जगतपुर, नेपाल राष्ट्रिय कन्या मावि सतवरिया लगायत विद्यालयहरूमा ७ देखि १५ वटासम्म कम्प्युटर रहे पनि विषयगत शिक्षक अभावकै कारण कम्प्युटर शिक्षा प्रभावित बनेको छ । ल्याब भए पनि प्रयोगात्मक कक्षा सञ्चालन नहुँदा पूर्वाधार उपयोग नै ठप्प छ ।

विषयगत शिक्षकको अभाव, ऐच्छिक बनाइएको प्रणाली र प्रयोगात्मक कक्षा नचल्दा पर्सा जिल्लामा कम्प्युटर शिक्षाको गुणस्तर  कमजोर हुँदै गएपनि यसतर्फ सम्बन्धि निकायले ध्यान नदिएको विद्यार्थीहरूको आरोप छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button