नागरिकको लगानीमा पदमार्ग पुनः निर्माण गरिने

सल्यान । सल्यानको ऐतिहासिक खलङ्गा–शितलपाटी पदमार्ग नागरिकको सक्रियतामा पुनः निर्माण तथा संरक्षण गरिने भएको छ ।
शारदा नगरपालिकाले स्थानीयहरूको सहभागिता र लगानीमा खलङ्गा– लुहापिङ–शितलपाटी पदमार्गको पुनर्निर्माण तथा संरक्षणको पहल सुरु गरेको हो । स्थानीयहरूसँग बृहत् छलफल थालेको नगरपालिकाले जनभावनालाई सम्बोधन गर्दै पदमार्ग पुनः निर्माण गर्ने जनाएको छ ।
छलफलमा पदमार्गको ऐतिहासिक, सांस्कृतिक र आर्थिक महत्त्व रहेकाले पुनः निर्माणलाई दिगो र प्रभावकारी बनाउन स्थानीय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको थियो ।
छलफलमा सहभागी नागरिकहरूले पदमार्ग पुनः निर्माणमा सहयोगको प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता राजेशकुमार शर्माले जानकारी दिनुभयो । “नागरिकहरू उत्साहित र सकारात्मक हुनुहुन्छ । प्राविधिक पक्ष र संरक्षकत्व नगरपालिकाले गर्ने कुरा भएको छ । यसमा निर्माण समिति बनाएर स्थानीयहरूले कोषमा सहयोग रकम जम्मा गर्ने वा आफैँ निर्माण कार्यमा संलग्न हुन पनि पाउने कुरा भएको छ ।”, उहाँले भन्नुभयो ।
योजनालाई दिगो बनाउन लागत स्टमेट अनुसार मापदण्ड भित्र नै रहेर स्थानीयहरूले काम गर्नुपर्नेछ । पदमार्गमा आवश्यक पर्ने खानेपानी धाराको प्रबन्धका लागि खलङ्गा शितलपाटी खानेपानी संस्थाले प्रतिबद्धता जनाएको नगर प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पदमार्ग पुनः निर्माणपश्चात् शौचालय एवं सौर्य बत्तीको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।
नगर प्रमुख भण्डारीले पदमार्गले आवतजावतमा सहजतासँगै स्थानीय अर्थतन्त्र, पर्यटन विकास र ऐतिहासिक सम्पदाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“खलङ्गा शितलपाटी पदमार्ग समग्र सल्यान जिल्लाकै पहिचान हो । नागरिकको श्रम सहभागिता र सहकार्यका आधारमा यसलाई पुनः निर्माण गरेर दिगो बनाउने हाम्रो उद्देश्य हो ।”
शितलपाटीबाट खलङ्गासम्म सडक सञ्जाल विस्तार हुनुअघि स्थानीय बासिन्दा तथा जिल्लाका अन्य क्षेत्र एवं जिल्ला बाहिरका नागरिकहरूले पनि आवतजावतको मुख्य मार्गका रूपमा उपयोग गर्दै आएको यो पदमार्गलाई व्यवस्थित संरचनासहित निर्माण गर्न लागिएको हो ।








प्रतिक्रिया राख्नुहोस्